काठमाडौँको फोहोर व्यवस्थापनमा कुँवर नेतृत्वको एनआरएनएको चासो

सफल खबर संवाददाता

मंगलबार, ०९ असोज २०८०, २० : ४७
काठमाडौँको फोहोर व्यवस्थापनमा कुँवर नेतृत्वको एनआरएनएको चासो

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए)ले काठमाडौँको फोहोर व्यवस्थापनमा चासो व्यक्त गरेको छ । संघका अध्यक्ष विनोद कुँवरको पहलमा आधुनिक प्रविधिबाट काठमाडौँको फोहोर व्यवस्थापनबारे छलफल थालिएको छ । अध्यक्ष कुँवरसहित कोरियन कम्पनी सेन्जेन ग्रीन एन्ड इनर्जीका उपाध्यक्ष वाङ चोइ र प्रोडुसर जोङ होउसहितका प्रतिनिधि मण्डलले फोहर व्यवस्थापन केन्द्रको अवलोकन गरेको छ ।

प्रतिनिधि मण्डलले स्थानीय र कर्मचारीहरूसँग फोहोर व्यवस्थापनबारे छलफल गरेको छ । एनआरएनएका अध्यक्ष कुँवरसहितको टोलीले फोहोर व्यवस्थापनबारे सहरी विकास मन्त्रालयमा मन्त्री सिता गुरुङ तथा मन्त्रालयका प्रतिनिधिहरूसँग पनि टोलीले छलफल गरेको छ । अध्यक्ष कुँवरका अनुसार कम्पनीले विश्वका अन्य देशहरूमा प्रयोगमा ल्याएको फोहोर व्यवस्थापन प्रविधि र त्यसबाट कसरी हरित ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा प्रस्तुतिकरण गरेको थियो ।

उपाध्यक्ष चोइले परियोजनालाई आवश्यक सम्पूर्ण सहयोग गर्न कम्पनी तयार रहेको र आवश्यक पुँजीको समेत सहुलियत दरमा व्यवस्थापन गर्न सकिने जानकारी दिए । छलफलको क्रममा मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपाल सरकारले किसिमका प्रविधिहरूको अध्ययन र अवलोकन गरिरहेको भन्दै छिट्टै ग्लोबल टेन्डर आह्वान गरेर कार्य अगाडि बढाउने बताए । एनआरएनए र कोरियन कम्पनीले चासो देखाएपछि सिसडोलबासीले फोहोर व्यवस्थापन हुने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस