कोरियाली राजदूतसँग गृहमन्त्री श्रेष्ठको प्रस्ताव- काठमाडौं र सोलबीच सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गरौं

सफल खबर संवाददाता

मंगलबार, १२ भदौ २०८०, १६ : ०३
कोरियाली राजदूतसँग गृहमन्त्री श्रेष्ठको प्रस्ताव- काठमाडौं र सोलबीच सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गरौं

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि कोरियाका राजदूत पार्क तेयोगबीच मंगलवार द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा सहकार्य र सम्बन्धका धेरै आयामबारे बृहत छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।भेटका लागि गृह मन्त्रालय आएका राजदूत पार्कलाई स्वागत गर्दै मन्त्री श्रेष्ठले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरे ।

 

समयका लागि उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठप्रति कृतज्ञता जनाउँदै राजदूत पार्कले नेपालमा आफूले तीन महिनादेखि राजदूतको रूपमा काम गरिरहेको तथा नेपाल र दक्षिण कोरियाको मैत्रीपूर्ण एवम् दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे । दुई देशबीच सांस्कृतिकलगायत धेरै समानता रहेको तथा आगामी वर्ष दुई देशको कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्न लागेको समेत उनले स्मरण गरे ।

 

गृहमन्त्री श्रेष्ठले दक्षिण कोरिया नेपालको महत्त्वपूर्ण विकास साझेदार रहेको र ’कोइका’मार्फत नेपाल प्रहरी साइबर ब्युरोको निर्माण र क्षमता विकासमा सहयोग पुर्याएकोमा धन्यवाद दिए । दशकौंको आन्दोलनपछि प्राप्त राजनीतिक परिवर्तनसँगै अहिले नेपालको मुख्य ध्येय गुणात्मक आर्थिक सामाजिक विकास रहेको र यसमा वैदेशिक लगानीको भूमिका महत्त्वपूर्ण हुने पनि श्रेष्ठले बताए ।

प्रत्यक्ष वैदेशिक लगानीलाई प्रवर्द्धन गर्न हाल नेपालमा लगानीमैत्री वातावरण र आधार बनाइसकिएको तथा सन् २०२६ मा नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुनेहुँदा दक्षिण कोरियाको सहयोग र साथको निरन्तरताको अपेक्षा राखेको उनले बताए । ‘इपिएस’ कार्यक्रममार्फत दक्षिण कोरियाले धेरै नेपालीलाई रोजगारी प्रदान गरेकोमा धन्यवाद दिँदै उपप्रधानमन्त्री श्रेष्ठले उक्त कार्यक्रममा नेपालीको कोटा बढाउन मिल्ने सम्भावनातर्फ विचार गर्न समेत आग्रह गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले काठमाडौं र दक्षिण कोरियाको राजधानी सोलबीच सिधा हवाई सम्पर्क स्थापना गर्न पहल गर्नुपर्ने समेत बताए । त्यसबाट नेपाल आउने दक्षिण कोरियाली पर्यटकको संख्या उल्लेखनीय बृद्धि हुने, नागरिक नागरिकबीचको सम्बन्ध थप प्रगाढ हुने र शान्ति एवम् सौहार्दताको सन्देशसमेत जाने उनले बताए । नेपाल भ्रमण गर्ने कोरियाली नागरिकहरूको सुरक्षामा निश्चिन्त नहुन समेत उनले आग्रह गरे ।

 

त्यसक्रममा राजदूत पार्कले नेपाल–दक्षिण कोरिया सम्बन्धका तीन आधार शान्ति, नागरिक नागरिकबीचको सम्बन्ध र समृद्धि भएको बताए । ‘इपिएस’ कार्यक्रमअन्तर्गत दक्षिण कोरियाले सबैभन्दा बढी नेपाली कामदार लिने गरेको र दक्षिण कोरियाली कामदार सरह सामाजिक सुरक्षा प्रदान गरेकोसमेत उनले जानकारी दिए । ‘इपिएस’ र ‘कोइका’मार्फत उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताए । दक्षिण कोरिया नेपालको चौथो ठूलो विकास साझेदार रहेको र सामसुङलगायत विश्व प्रसिद्ध दक्षिण कोरियाली कम्पनीहरूले आगामी दिनमा नेपालमा समेत उद्योग विस्तार गर्ने विश्वास उनले व्यक्त गरे ।

राजदूत पार्कले नेपाल भ्रमणमा आउने दक्षिण कोरियाली पर्यटक र बौद्ध धर्मावलम्बीहरूको संख्या बढ्दो रहेकोसमेत बताए । यसै वर्ष नेपाल आएको बौद्ध धर्मावलम्बीहरूको प्रतिनिधिमण्डल टोलीको सुरक्षा र यात्रा सहजीकरणका लागि गृह मन्त्रालय र अध्यागमन विभागलाई उनले विशेष धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस