सुनकाण्डको जरैसम्म पुग्छौं, कुनै 'कोट', 'टार' र 'पार्टी' मलाई मतलब छैन : गृहमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

शुक्रबार, ०५ साउन २०८०, १२ : ३९
सुनकाण्डको जरैसम्म पुग्छौं, कुनै 'कोट', 'टार' र 'पार्टी' मलाई मतलब छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने बताएका छन् । शुक्रबार विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने बताएका हुन् ।

अनुगमनपछि सञ्चारकर्मीहरूलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले विगतका घटना हेरेर केही सावधानी अपनाउनुपर्ने भए पनि कमीकमजोरी भएको बताए । 'कतै तीन ब- बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुम पारिने त होइन' भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भने, 'भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैन ।' सुन आयात घटनाको जरैसम्म पुगेर दोषीलाई कारबाही गरिने पनि गृहमन्त्री श्रेष्ठले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चालेको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेको पनि उनको भनाइ छ । 'सम्माननीय प्रधानमन्त्रीज्युको भ्रष्टाचारविरोधी अभियानलाई गृह मन्त्रालयले व्यवहारिक रूपमा नेतृत्व गरिरहेका छौँ । कसैले यसलाई भ्रम पार्न सकिन्छ कि विचलित बनाउन सकिन्छ भनेर नसोचे नि हुन्छ,' गृहमन्त्री श्रेष्ठले भने ।

भन्सारको सुरक्षा जाँचपास गर्ने मेसिनलगायतको कमजोरी बाहिरिएपछि निरीक्षणमा गएका हुन् । भन्सार विभागका निर्देशकसमेत रहेका प्रवक्ता पुण्यविक्रम खड्काका अनुसार खरिदार कुमार ढकाललाई निलम्बन गरिसकिएको छ भने भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको छ ।

त्यस्तै भन्सार एजेन्ट यादव पराजुलीलाई समेत निलम्बन गरिएको प्रवक्ता खड्काले इकान्तिपुरलाई जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट मंगलबार स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’ को नामबाट करिब सय किलो सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गरेको हो । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचकी कुमार ढकालले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस