१६ घण्टादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, १६ : २८
१६ घण्टादेखि अवरुद्ध बेनी–जोमसोम सडक सञ्चालनमा

काठमाडौँ। बेनी–जोमसोम सडकमा १६ घण्टापछि  सवारी सञ्चालन भएको छ । सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो ।

मङ्गलबार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सिधा यातायात आज दिउँसोदेखि सञ्चालन भएको अन्नपूर्ण–२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिए । उनका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार हुने गरी मर्मत गरेपछि सडकमा यातायात सञ्चालन भएको हो ।

सडक अवरुद्ध बनेपछि बीच बाटोमै रोकिएका सवारी साधन सडक सञ्चालन भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुङ्गतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो ।

मङ्गलबार राति वर्षासँगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो  । यसैबीच बाढीले भुरुङ तातोपानीबजारमा वितरण हुने खानेपानीको पाइप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ ।

करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब पाँच सय मिटर बढी पाइपलाइन क्षति भएको छ । गाउँपालिकाले पाइप बगाएको ठाउँमा अर्को पाइपको बन्दोबस्त गर्ने गरी स्थानीयवासी खानेपानीको मर्मतमा जुटेका छन् । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस