प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने

सफल खबर संवाददाता

बुधबार, ३१ जेठ २०८०, १५ : ५०
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने

काठमाडौँ  । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ बिहीबार हुने भएको छ । उजुरीकर्ताहरूसँगको छलफलपछि बिहीबार कार्कीलाई बोलाउने निर्णय भएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

समितिको पछिल्लो बैठकको नेतृत्व गरेका ज्ञानेन्द्रबहादुर कार्कीले बिहीबार बिहान ८ बजे प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई आफ्ना कार्ययोजना प्रस्तुत गर्नका लागि बोलाउने निर्णय गरिएको जानकारी दिए । उनले ७ जना उजुरीकर्ताहरूसँग उजुरीबारे एक्लाएक्लै र बाँकीसँग सामूहिक छलफल गरिएको जानकारी दिए ।

संसदीय सुनुवाइ समितिले संसदीय सुनुवाइका लागि प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीलाई बोलाउने निर्णय गरेको हो । उजुरीकर्ताहरूको छलफलबीच भएको विवादका कारण अवरोध सिर्जना हुने भएपछि समितिले केही उजुरीकर्ताहरूसँग मात्रै छलफल गरेको थियो ।

बैठकमा उजुरीकर्तामध्येका वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ‚ जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई‚ अधिवक्ता अमृत खरेल‚ उजुरीकर्ता रतन भण्डारीलगायतले सुनुवाइ समितिको बैठक बहिस्कार गरेका थिए । सुरुमा सामूहिक रुपमा बैठकमा सहभागी हुन पाउनुपर्ने माग राखेका उजुरीकर्ताहरूले पछि समितिको वैधतामाथि प्रश्न उठाएका थिए । उजुरीकर्ताहरूसँग कसरी छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा उनीहरू बाहिरिएका थिए ।

बुधबार बिहान २३ जना उजुरीकर्तालाई संसदीय सुनुवाइ समितिले छलफलका लागि बोलाएको थियो । सुनुवाइ समितिले उजुरीकर्ता प्रत्येकलाई १० मिनेट समय दिँदै गोप्य छलफल गरिरहँदा उजुरीकर्ताको एक समूहले भने समिति नै अवैध भन्दै विरोध जनाएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस