काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ।पछिल्लो पाँच दिनदेखि आकाश खुल्ला भई निरन्तर चर्को घाम लाग्नुका साथै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसुस गरिएको हो।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको बताए।
'देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव परिरहेको छ, तर पनि मनसुनको समय भइसकेकाले सङ्क्रमणकालीन समय (प्रिमनसुन सकिने र मनसुन भित्रिनेबीचको समय) भएकाले अझै केही दिन वर्षा हुदैन,' उनले भने।
उक्त मौसमी प्रणालीका कारण केही दिन गर्मी बढ्ने अनुमान गरिएको मौसमविद् मानन्धरले बताए । उनका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्ने देखिन्छ । 'तराईका केही जिल्लामा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेर गर्मी बढ्ने देखिन्छ भने काठमाडौँ उपत्यकामा पनि क्रमिकरुपमा तापक्रम बढिरहेको छ,' उनले भने।
दिनयता काठमाडौँको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको छ । काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ ।नेपालमा सामान्यतः जुन १३ तारिखमा पूर्वी नेपाल भएर मनसुन भित्रिने सरदर मिति रहे पनि यो पटक मनसुन करिब दुई साता ढिला गरी अर्थात् असारको पहिलो सातामात्रै नेपालमा प्रवेश हुने अनुमान गरिएको मौसमविद् मानन्धरले जानकारी दिए।
विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको राससमा सम्बन्धित जिल्लाबाट समाचार सम्प्रेषण भएका छन्। तराई मधेसमा ४० देखि ४४ डिग्री सेल्सियससम्म तापक्रम वृद्धि भएको समाचारमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ जेठ २०८०, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
गर्मी अत्यधिक बढेपछि बिहीबार र शुक्रबार विद्यालय बन्द
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द
गर्मीका कारण यूपीमा ५१ जनाको मृत्यु
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
तराईमा केहीदिन अत्यधिक गर्मी हुने