फुत्त राजनीतिमा निस्किएर गाली गर्दैमा विकल्प भइन्न :पूर्वराष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १२ : ५८
फुत्त राजनीतिमा निस्किएर गाली गर्दैमा विकल्प भइन्न :पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रको विकल्प नभएको बताएकी छन् । काम गर्ने व्यक्तिका कारण केही नकारात्मक कुराहरू भए पनि प्रणाली आफैँमा गलत नभएको उनले बताइन् । कुनै एक व्यक्तिले गल्ती गर्दैमा प्रणाली नै खत्तम हो भन्ने निचोडमा पुग्न नहुने उनको भनाइ छ । 'अहिले पनि लोकतान्त्रिक गणतन्त्रको अहिले कुनै विकल्प छैन ।

कुनै एक व्यक्तिले कामका सन्दर्भमा गल्ती गरे भन्दैमा प्रणाली नै खत्तम हो भन्ने निचोडमा जानु हुँदैन,' राष्ट्रिय समाचार समिति (रासस)लाई अन्तर्वार्ता दिँदै भण्डारीले  भनेकी छन्, 'प्रणाली आफैँमा गलत नभए पनि कहिलेकाहीँ काम गर्ने व्यक्तिहरूका कारण जानेर वा नजानेर नकारात्मक कुराहरू भएका हुन सक्छन् । एक जना आमाका १२ जना छोराछोरी होलान्, कुनै एकले केही गल्ती गरे भन्दैमा आमा नै गलत भन्ने सोचमा पुग्नुहुन्छ र ?'

यसलाई सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक रहेको उनको बुझाइ छ। मुलुकका ठूला राजनीतिक दलहरूले यसलाई नेतृत्व गरेर जानुपर्ने उनले बताइन् । समाजमा अनुशासनहीनता र प्रतिगमनकारी सोचलाई लोकतान्त्रिक पद्धति र जनमतबाटै निस्तेज गर्दै जानुपर्ने उनको भनाइ छ । राजनीतिमा नयाँ पुस्ता आउन पाउने भए पनि अग्रज कोही होइनन् र हामी नै विकल्प हो भन्ने सोच राख्नु नहुने उनले बताइन् । कोहीले फुत्त राजनीतिमा निस्किएर प्रणालीलाई गाली गरेर मात्रै विकल्प नहुने उनको भनाइ छ ।

'२००७ सालको आन्दोलनमा आजका युवा थिएनन् । २०३६ र २०४६ सालको आन्दोलनमा म थिएँ। अनि अगाडिका कोही होइन भनेर मैले भन्न मिल्छ र ? पुर्खाको इतिहासलाई भुल्न हुँदैन 'नयाँ उदाएका दलप्रति इङ्गित गर्दै उनले भनेकी छन्, 'राजनीतिमा आजका पुस्ता आउन पाउँछ । आउँछ । तर अग्रज कोही होइनन्, हामी नै विकल्प हो भन्ने सोच राख्नु हुन्न । आज कोही फुत्त राजनीतिमा निस्किएर प्रणालीलाई गाली गरेर मात्रै हुँदैन ।'कार्यकाल सकेर बाहिर आउँदा औपचारिकताबाहेक अरु खासै फरक महसुस नगरेको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस