ब्रसेल्स । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो ‘प्रतिश्पर्धी’ हुनुहुन्छ ‘सत्रु’ होइन भन्नु भएको छ ।
एउटा शिखर सम्मेलनका क्रममा एक दिन अगाडी पुटिनलाई भेट्नु भएका ट्रम्पले बिहीबार यस्तो बताउनु भएको हो । कसैले उहाँलाई सोध्यो “के पुटिन तपाईको सत्रु हुन् ?” उहाँले भन्नुभयो “होइन, पुटिन मेरो सत्रु होइनन् ।”
“त्यसो भए के पुटिन तपाइको साथी हुन् त ?” यसमा पनि उहाँले भन्नुभयो, “होइन । मैले उहाँलाई राम्रोसँग चिन्दिन, तर पनि दुई पटक भेट्न भने पाएको छु ।” “पुटिन मेरो प्रतिस्पर्धी भने अवश्य हो, उहाँले रुसको प्रतिनिधित्व गर्नुहुन्छ, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु,” ट्रम्पले भन्नुभयो । “आशा गरौँ, उहाँ मेरो साथी बन्नुहुनेछ । अहिले भने चिनेको छैन ।”
बेल्जियमको ब्रसेल्समा भएको नाटो शिखर सम्मेलनका क्रममा भएको पत्रकार सम्मेलनमा ट्रम्पले पत्रकारहरूले सोधेको प्रश्नमा पुटिनका बारेमा यस्तो जवाफ दिनुभएको हो । (रासस/एएफपी)
प्रतिक्रिया दिनुहोस