थाईल्यान्डको गुफामा फसेका सबैको यसरी गरियो उद्धार, के थियो घटना ?

एजेन्सी

मंगलबार, २६ असार २०७५, १९ : ०८
थाईल्यान्डको गुफामा फसेका सबैको यसरी गरियो उद्धार, के थियो घटना ?


थाईल्यान्ड । उत्तरी थाईल्यान्डस्थित बाढीग्रस्त गुफामा दुई हप्तादेखि फसेको समूहका बाँकी पाँच सदस्यलाई पन‌ि उद्धार अभियानको तेस्रो दिन सकुशल बाहिर ल्याइएको छ ।

थाई जलसेनाले गुफामा गत जुन २३ देखि फसेका सबै जनाको उद्धार गरिएको पुष्टि गरेको छ । आइतवार र सोमवार प्रत्येक दिन चार-चार जना गरेर गुफाको प्रवेशद्वारबाट चार किलोमिटिर भित्र फसेको टोलीका आठ बालकको सकुशल उद्धार गरिएको थियो ।

एघारदेखि १६ वर्ष उमेरका १२ बालक र तिनका प्रशिक्षक गुफामा बाढी छिरेपछि नौ दिन सम्पर्कविहीन भएका थिए । पछि उनीहरूलाई जलमग्न अँध्यारो गुफाको एउटा ढिस्कोमा जीवितै भेटिएको थियो ।

गुफा-उद्धार गुफा उद्धार

कसरी गरियो अन्तिम चरणको उद्धार?
मनसुन सुरु भइसकेको र थप वर्षा हुँदा गुफा अझ जलमग्न हुने र सो समूह जोखिममा पर्ने विचार गरेर बालकहरूलाई आइतवारदेखि बाहिर निकाल्न थालिएको थियो ।
तेस्रो दिनको अभियान स्थानीय समयानुसार बिहान नौ बजे सुरु भयो । आवश्यक उपकरण र अक्सिजनका ट्याङ्की लिएर १९ गोताखोरहरू गुफामा प्रवेश गरेका थिए ।

 गुफा-उद्धार

Graphic showing how the boys leave the cave

बाहिर वर्षा भइरहेको भए पनि गुफाभित्र पानीको सतह आइतवारको जति नै भएको उद्धारकर्मीहरूलाई उद्धृत गर्दै एक अधिकारीले बताए ।

गुफाबाहिर हेलिकप्टर र एम्बुलेन्सहरू देखिएको थियो । त्यहाँ सञ्चारमाध्यमलाई भने जान दिइएको थिएन । थाई र विदेशी गोताखोरहरू यो जटिल उद्धार अभियानमा सहभागी भएका थिए‍ ।

ती अनुभवी गोताखोरहरूले बालकहरूलाई गुफाका जलमग्न एवम् अँध्यारा भागहरूमा मार्गदर्शन गरेर बाहिर ल्याएका थिए । त्यसरी आउँदा बालकहरूले हिँड्नु, पौडिनु, उकालो उक्लिनु र गोता लगाउनु परेको थियो ।

गोताखोरले यसरी उद्धार गर्छन्
यो कठिन उद्धार अभियानमा संलग्न एक गोताखोरको केही दिनअघि गुफाबाट फर्किने क्रममा मृत्यु भएको थियो । हजारौँ व्यक्तिहरूले समग्र उद्धार अभियानमा स्वयम्सेवा गरेका थिए ।

बालकहरूको अवस्था कस्तो छ?
यसअघि उद्धार गरिएका आठ बालकहरू शारीरिक र मानसिक रूपमा स्वस्थ रहेको बताइएको छ ।
उद्धारपछि अस्पतालमा भर्ना गरिएका बालकहरूको एक्स-रे एवम् रक्तपरीक्षण गरिएको छ । उनीहरूलाई चिकित्सकको निगरानीमा अस्पतालमा कम्तीमा पनि एक हप्ता राखिने छ ।

वाइल्ड बोर समूह

अस्पताल लगिँदा केही बालकहरू न्यून तापक्रमका कारण समस्याग्रस्त थिए । तिनमध्ये एक जनाको मुटुको चाल पनि कम थियो । तर अहिले उनीहरू सबैको स्थितिमा सुधार आइसकेको छ ।

गुफा
"आठै जनाको स्वास्थ्य राम्रो छ । ज्वरो पनि छैन । सबै मानसिक रूपमा पनि ठिक छन्," स्वास्थ्य मन्त्रालयका सचिव जेसाडा चोकेडाम्रोङ्सुकले एउटा पत्रकार सम्मेलनमा बताए । स्वास्थ्य अधिकारीहरूका अनुसार बालकहरूलाई अहिले सजिलै पच्ने खानेकुरा दिइएको छ ।

अभिभावकले हेरे, प्रधानमन्त्रीले भेटे
केही बालकहरूले आफ्ना अभिभावकहरूलाई परबाट हेर्न पाएका छन् । तर उनीहरूलाई सोझै भेट गर्न भने दिइएको छैन ।

केही दिनमै थप परीक्षणका परिणामहरू प्राप्त हुनेछन् र बालकहरूलाई सङ्क्रमण नभएको प्रमाणित भए उनीहरूलाई परिवारजनसँग भेट्न दिइनेछ । तर थाइल्यान्डका प्रधानमन्त्री प्रायुत जान-ओचाले भने बालकहरूलाई भेटेका छन् । -बीबीसी

गुफा-उद्धार

 

प्रतिक्रिया दिनुहोस