देउवाविरुद्ध आठ भाइको एक्सनमा सिटौला भिलेन

शुक्रबार, ०८ असार २०७५, १६ : ०७
देउवाविरुद्ध आठ भाइको एक्सनमा सिटौला भिलेन

काठमाडौँ । नेपाली कांग्रेसको जिल्ला सभापति भेलामा ८ जना केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई अविलम्ब महाधिवेशनको प्रक्रिया अघि बढाउन दबाव दिएका छन् । उनीहरुले हेटौँडाबाट पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध एक्सन सुरु गरेका छन् ।
सभापति भेलाका सहभागीहरुलाई दिइएको पत्रमा अहिलेको कांग्रेस नेतृत्वबाट सशक्त प्रतिपक्षको भूमिका पनि निर्वाह हुन नसक्ने भएकोले नेतृत्व परिवर्तन गर्नुपर्ने उल्लेख छ । गगन थापा, चन्द्र भण्डारी लगायत आठ जना केन्द्रीय सदस्यले सभापति भेलामा वितरण गरेको पत्रमा प्रदेश र स्थानीय तहका अधिवेशन गर्न केन्द्रीय महाधिवेशन कुर्न नहुने भन्दै देउवा विरुद्ध फायर खोलेका छन् । 
महाधिवेशन कुरेर संघीय संरचनामा अधिवेशन नगरिए अर्को चुनाव पनि जित्न नसकिने उनीहरुको ठहर छ । पत्रमा भनिएको छ, हाम्रो विधान अनुसार नियमित रुपमा पनि अर्को साल फागुनमा पार्टीको १४ औं महाधिवेशन गर्नुपर्छ । त्यसअघि गनुपर्ने वडा, गाउँपालिका, नगरपालिका, क्षेत्र र प्रदेशको अधिवेशन गर्न झण्डै एक वर्ष लाग्छ । यी तहको अधिवेशनको लागि केन्द्रीय महाधिवेशन नकुरौं । 
पार्टी सभापति देउवा र उनको गुटमा रहेका डा. प्रकाशशरण महत, विमलेन्द्र निधि लगायतले नेतृत्वविरुद्ध हमला गरिएको भन्दै कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । उनीहरुले महासमितिबाट संघीय विधान पारित गरी स्थानीय र प्रादेशिक तहको अधिवेशन प्रक्रिया अविलम्ब सुरु गर्न भनेका  छन् । 
उनीहरुले भनेका छन्, नेतृत्वका कारण पार्टी करिब करिब मृतजस्तै भएको छ । यसले संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउनेछ, सशक्त प्रतिपक्षको भूमिका हुनेछ । आगामी स्थानीय चुनाव हुँदै गर्दा हामी सम्पूर्ण तयारी अवस्थामा हुनेछौं । हामीलाई विश्वास छ, सभापतिको यस बैठकले यी विषयहरुमा छलफल गरी महासमितिबाट नयाँ सांगठानिक संरचनासहितको विधान पारित गर्ने कुरामा ठोस मार्गनिर्देशन गर्नेछ ।
आठ केन्द्रीय सदस्यहरुले कांग्रेसको वर्तमान नेतृत्वबाट पार्टी पहिलेको अवस्थामा पुग्न नसक्ने भन्दै नयाँ ढंगले सोच्न आग्रहसमेत गरेका छन् । उनीहरुले सभापतिको भेलामा निर्वाचनको समीक्षा र आगामी कार्यदिशाबारे छलफल गर्न आग्रह गरेका छन् ।
उनीहरुले यसअघि केन्द्रीय कार्य समिति बैठकमा पेश गरेको ५१ पृष्ठ लामो प्रतिवेदन पनि अध्ययनका लागि सभापतिहरुलाई दिएका छन् । प्रतिवेदनमा चुनावी हारको विस्तृत समीक्षा गर्दै कांग्रेस सुधारका विकल्प दिइएको छ । पत्रमा चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले हस्ताक्षर गरेका छन् । नेता कृष्णप्रसाद सिटौलाले बार्गेनिङका लागि जे मन लाग्यो त्यही गरेर भिलेन बनेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस