इतिहासकै शक्तिशाली सरकारसँग राजेन्द्र महतोलाई संविधान संशोधनको आशा

शनिबार, ०२ असार २०७५, १९ : ४६
इतिहासकै शक्तिशाली सरकारसँग राजेन्द्र महतोलाई संविधान संशोधनको आशा

धनुषा ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा ओली नेतृत्वको सरकारमा सहभागी हुन तयार रहेको बताउनुभएको छ ।

नेता महतोले भन्नुभयो, “संविधान संशोधन भयो भने राजपा नेपाल सरकारमा सहभागी हुन तयार छ, अब हेरौँ बल सरकारको कोर्टमा छ, यसमा कस्तो गोल हान्ने त्यो उहाँहरुको रोजाइको विषय हो ।”

आज जनकपुरमा मानव विकास केन्द्र नामक संस्थाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महतोले भन्नुभयो, “नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली वर्तमान सरकारसँग संविधान संशोधनको आशा हामीलाई छ ।”

नेता महतोले सरकारसँग बहुमतको समेत कुनै समस्या नभएको हुँदा संविधान संशोधन गरेर मधेशी जनताले उठाउँदै आएको मागलाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अधिकारको आन्दोलन सम्पन्न नभएसम्म विकासको मार्ग प्रशस्त हुन नसक्ने हुनाले सर्वप्रथम वर्तमान सरकारले मधेशको जनताको मागलाई सम्बोधन गर्न संशोधनको मुद्दालाई गम्भीरताका साथ लिएर समाधान गर्नुपर्छ ।”

नेता महतोले रेशम चौधरीको विषयलाई उठाउँदै चौधरीमाथि लगाइएका झुठा मुद्दा यथाशीघ्र फिर्ता हुनुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचित सांसदलाई मुद्दा लगाएर अपराध प्रमाणित नहुँदै अपराधीजस्तो व्यवहार गर्नु अनुचित हो ।”

उहाँले संघीय सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेट संघीयताको मर्मअनुरुपको नभई केन्द्रीकृत मानसिकताको उपज भएको समेत बताउनुभयो । उहाँको कथन थियो, “बजेटले प्रदेशलाई बलियो पार्ने र जनतामा परिवर्तनको अनुभूति गराउन नसक्ने हुनाले यो संघीयतालाई कमजोर बनाउनेखालको बजेट हो ।” (रासस)

प्रतिक्रिया दिनुहोस