काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए।
उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक–एक जनामा हैजा देखिएको छ । फोहोर र प्रदूषित पानीका कारणले हैजा देखिएको हुन सक्ने भन्दै उनले काठमाडौँ हैजाको जोखिममा रहेको बताए ।
बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पाइएको छ । उनीहरुले पिउने पानीको नमुना परीक्षण गर्दा इकोली र कोलीफर्म नामक जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुम्मनलाल दासले जानकारी दिए ।
विगतमा काठमाडौँमा लामो समयसम्म फोहोर नउठेको कारणले पनि हैजाको प्रकोप बढेको हुन सक्ने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा नजिकैको स्वास्थ्य कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । गर्मी र बर्खायाममा विशेषगरी झाडापखाला, हैजा तथा पानीजन्य रोगहरु फैलिने हुँदा सबैलाई सजक र सतर्क हुन अनुरोध मन्त्रालयले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ असार २०७९, ०७ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली
हैजा सङ्क्रमितको संख्या ५८ पुग्यो
५५ पुग्यो हैजा संक्रमितको संख्या
डेंगु र हैजाका संक्रमित बढे
हैजा संक्रमितको संख्या २७ पुग्यो, उपत्यकामा सबैभन्दा बढी
हैजा सङ्क्रमण : कुन उमेर समूह बढी प्रभावित ?