हैजा सङ्क्रमण : कुन उमेर समूह बढी प्रभावित ?

सफल खबर संवाददाता

आइतबार, २० साउन २०८१, १४ : १५
हैजा सङ्क्रमण : कुन उमेर समूह बढी प्रभावित ?

काठमाडौँ । नेपालभर पछिल्लो पटक २५ जनामा हैजा पुष्टि भएको छ । सरकारी तथ्याङ्कले सबै उमेर समूहकालाई हैजा सङ्क्रमण हुन सक्ने देखाएको छ । उमेरको तुलना गर्दा युवा र बालबालिकाहरू बढी प्रभावित देखिन्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरको गोदावरी, ग्वार्को, इमाडोललगायत क्षेत्रका १६ जनामा हैजा देखिएको छ । काठमाडौँको टोखाका १ जना गरी उपत्यकामा १७ जनामा हैजा सङ्क्रमण भएको छ ।

यसमध्ये ५ देखि १४ वर्ष उमेरका १ जना, १५ देखि २४ वर्ष उमेर समूहका ५ जना, २५ देखि ३४ वर्ष उमेर समूहका ३ जनामा हैजा देखिएको छ । यस्तै, ३५ देखि ४४ वर्ष उमेरका  १ जनामा , ४५ देखि ५४ वर्ष उमेर समूहका ५ जना र ५५ देखि ६४ उमेर समूहका २ जनामा हैजा देखिएको छ ।

यस्तै, कैलालीका ८ जनामा हैजा सङ्क्रमण देखिएको छ । यसमध्ये ४ वर्ष मुनिका १ जनालाई हैजा देखिएको छ । यस्तै, ५ देखि १४ वर्ष उमेर समूहका ५ जनामा हैजा भेटिएको छ भने, १५ देखि २४ वर्ष उमेर समूहका १ जनामा हैजा देखिएको छ । २५ देखि ३४ वर्ष उमेर समूहका १ जनामा हैजा सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्क छ ।

सङ्क्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार हैजा सबै उमेर समूहकालाई हुन सक्छ । तर तुलनात्मक रूपमा जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ ऊ नै बढी प्रभावित हुन सक्छ ।

काठमाडौँ उपत्यकामा महिलाभन्दा पुरुष धेरै सङ्क्रमित

देशभर महिलाभन्दा बढी पुरुषलाई हैजा सङ्क्रमण भएको पाइएको छ । देशभर २५ जना हैजा सङ्क्रमितमध्ये १५ जना पुरुष छन् भने, १० जना महिला छन् । काठमाडौँ उपत्यकाभरका १७ जनामा देखिएका हैजामध्ये ११ जना पुरुष र ६ जना महिला छन् ।

यस्तै, कैलालीका ८ जनमध्ये सङ्क्रमित सङ्ख्या महिला र पुरुषको सङ्ख्या बराबरी रहेको ईडीसीडीले उल्लेख गरेको छ ।

पानीमा दिसाजन्य पदार्थको मिश्रण हुँदा मानिसमा हैजा देखिने गर्दछ । निर्मलीकरण गरेको पानी मात्रै पिउन, खाने कुरामा र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन डा. पुनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस