जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता बढ्दै

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १० : ०९
जनकपुर उपमहानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता बढ्दै

जनकपुर । मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । त्यहाँ पाँचदलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार पाँचौँ स्थानमा छन् ।

गठबन्धनका तर्फबाट नगरप्रमुखका साझा उम्मेदवार जनता समाजवादी पार्टीका लालकिशोर साहको मत परिणाम निराशाजनक देखिएको हो । नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोज साहले ३ हजार ९५६ मतका साथ अग्रता बनाउँदा निवर्तमान नगरप्रमुखसमेत रहेका गठबन्धनका उम्मेदवार लालकिशोर ४२९ मत ल्याएर पाँचौँ स्थानमा छन् । 

उनीभन्दा अगाडि एमालेका शिवशङ्कर साह २ हजार ८६ मतका साथ दोस्रो, स्वतन्त्र उम्मेदवार बलराम महतो १ हजार ११३ मतका साथ तेस्रो र लोसपाका मनोज चौधरीले ७३१ मत प्राप्त गरी चौथो स्थानमा छन् । गठबन्धनका तर्फबाट प्रमुखका उम्मेदवारको मतपरिणाम निराशाजनक देखिए पनि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार रहेका  कांग्रेसका किशोरी साह भने सुरुदेखि नै अग्रता कायम राखेका छन् । उनले ३ हजार ४४२ मत प्राप्त गरी अग्रता कायम राखेका छन् भने एमालेका रुना झाले १ हजार ७३७ मतका साथ उनलाई पछ्याइरहेका छन् । 

कूल २५ वटा वडा रहेको जनकपुरधाम उपमहानगरपालिकाको हालसम्म सम्पन्न सातवटा वडाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए । उनका अनुसार वडा नं १ को वडाध्यक्षमा कांग्रेसका दीपनारायण यादव (देवु), वडा नं २ मा कांग्रेसकै शिवकुमार साह, वडा नं ३ मा तमलोपाका दीपेन्द्रकुमार साह, वडा नं ४ मा कांग्रेसका सुरेश झा, वडा नं ५ मा एमालेका बेचन साह हलुवाइ, वडा नं ६ मा कांग्रेसका दिनेश्वर साह र वडा नं २५ को वडाध्यक्षमा कांग्रेसकै चन्देश्वर साह विजयी भएका छन् अन्य वडाको मतगणना कार्य भइरहेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस