सहकारी ठगी प्रकरण

रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै

सफल खबर संवाददाता

सोमबार, २१ माघ २०८१, १२ : ५७
रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता हुँदै

चितवन । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १४ जना र ६ वटा संस्थाविरुद्ध आज चितवन जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

चितवन जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार प्रहरीले दिएको पुरक अनुसन्धान प्रतिवेदन अध्ययन गरी आज रविसहितलाई ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता गर्न लागिएको हो । गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा छुटेका छन् ।

प्रहरीले पठाएको पहिलो प्रतिवेदनमा थप अनुसन्धान गर्नुपर्ने भन्दै सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेको थियो । पुरक निवेदनसहित साहारा सहकारीको ४३ लाख ९४ हजार ६ सय ३१ रूपैयाँ फिर्ता पाउनुपर्ने मागदाबी प्रहरीको छ । दुवै निवेदनअनुसार कुल ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । भने कम्पनीक‍ो हकमा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस