काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा आम नागरिकहरूको भूमिका महत्वपूर्ण हुने भएकाले भयरहीत रूपमा मतदान गर्न आग्रह गरेको छ । आसन्न वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सरकारी स्तरबाट विभिन्न श्रोत, साधनहरू परिचालित भइसकेको र स्वयं मतदाताहरूको भूमिका पनि महत्वपूर्ण हुने भएकोले संयमित भएर मतदान गर्न आग्रह सरकारले आग्रह गरेको हो ।
सरकारले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई निर्वाचनमा केन्द्रित गरेर सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिइसकेको जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एकीकृत सुरक्षा योजना अन्तर्गत सरकारले प्रत्येक जिल्लामा सुरक्षा योजना बनाएर त्यसैअनुसार सम्पूर्ण सुरक्षा परिचालित भएको बताए ।
स्थानीय निकायको निर्वाचनका लागि राज्यले चुस्त, दुरुस्त सुरक्षा व्यवस्थापन गरेको प्रवक्ता पोखरेलले बताए । अहिले राज्य नै निर्वाचनमय भएकोले निर्वाचन शन्तिपूर्ण रूपमा सम्पन्न हुने उनको विश्वास छ ।
पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमणको दर बढिरहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरे। विदेशबाट स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न आउने नागरिकहरूले पनि स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरेर थप जोखिम हुनबाट बचाउन अनुरोध गरे ।
सरकारले कोरोनाको जोखिम कम गर्न सीमा नाकाहरुमा स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारसँगको समन्वयमा हेल्थ डेस्कहरू राखेको जानकारी दिँदै प्रवक्ता पाखेरेलले कोरोनाको जोखिम कम गर्न सरकारले स्वास्थ्य मन्त्रालयसँग समन्वय र छलफल गरिरहेको पनि स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १५ : ३९
लेखकबाट थप