धर्मेन्द्र बास्तोलाकाे नेतृत्वमा नेकपा (बहुमत)को घोषणा, ८ बुँदे प्रतिबद्धता सार्वजनिक (विज्ञप्तिसहित)

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १५ : १३
धर्मेन्द्र बास्तोलाकाे नेतृत्वमा नेकपा (बहुमत)को घोषणा, ८ बुँदे प्रतिबद्धता सार्वजनिक (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पार्टीको घोषणा भएको छ । पार्टीको संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भएका छन् । काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर बास्तोला संयोजक रहेको पार्टीको घोषणा भएको हो । 

पार्टीको नवौं महाधिवेशन काठमाडौंमा आगामी १ फागुनमा गर्ने पनि जानकारी दिइएको छ । संयोजक बास्तोलाले पार्टीको नीति तथा कार्यक्रम र चितवन भेलाका निर्णय पनि सार्वजनिक गरे । 

उक्त पार्टीको राजनीतिक कार्यदिशा वैज्ञानिक समाजवाद हुने पार्टी महाधिवेशन आयोजक कमिटी सदस्य गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार पार्टीको कार्यनीति भने राजनीतिक स्थायीत्व, सामाजिक रूपान्तरण, समृद्धि र स्वाधीनता रहेको छ ।

चितवनमा हालै सम्पन्न भेलाले नेत्रविक्रम चन्द ‘विप्लव’लाई हटाएको थियो । सोही भेलाले नयाँ पार्टी गठन गर्ने निर्णय गरेको थियो । स्थानीय तह निर्वाचनमा जाने भएपछि ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मतभेद चुलिएको थियो । नेता बास्तोलासँगै अर्का नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायत बहुमत नेताहरू भने निर्वाचनमा जान तयार थिएनन् ।

यस्तै पार्टीले ८ बुँदे प्रतिबद्धता पनि जनाएको छ।  जनतामाथि फेरि पनि धोका नहोस् भनेर राष्ट्रिय भेलाबाट ८ बुँदे प्रतिबद्धता जनाइएको संयोजक धर्मेन्द्र बाँस्तोलाले जानकारी दिए । यसपछि उत्पन्न विवादकै बीच आपसमा कारबाहीमा उत्रिए । अन्ततः बास्तोलासहितका नेताहरू अलग भएर नयाँ पार्टी स्थापना गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस