निर्वाचनको पूर्वसन्ध्यामा परियारको हत्या हुनु वर्तमान गठबन्धन माथिको प्रहार : बानियाँ

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १४ : ४२
निर्वाचनको पूर्वसन्ध्यामा परियारको हत्या हुनु वर्तमान गठबन्धन माथिको प्रहार  :  बानियाँ

चितवन। नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले चितवनमा पार्टीका कार्यकर्ता अनिल परियारको हत्याप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।काँग्रेस बागमती प्रदेश महाधिवेशन प्रतिनिधि परियारको आइतबार साँझ भरतपुर–७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समूहले हत्या गरेको थियो ।

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा परियारको हत्या हुनु वर्तमान गठबन्धन माथिको प्रहार भएको बानियाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । परियारको हत्यामा संलग्नलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्ने काँग्रेस बागमती प्रदेशह समितिले माग गरेको छ । यस्तै काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल चितवनले काँग्रेसमा आबद्ध युवामाथि निर्वाचनको पूर्वसन्ध्यामा योजनाबद्ध ढंगले आक्रमण हुनु निर्वाचन बिथोल्ने षड्यन्त्र भएको बताएको छ ।

तरुण दल चितवनका अध्यक्ष राजन ताम्रकारले एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरको चुनावी सभामा उत्तेजित अभिव्यक्ति दिएकै दिन परियारको हत्या हुनुले एमालेको संलग्नता हुन सक्ने आशंका गरेका छन् । घटनाको छानबिन गरी दोषीमाथि अबिलम्ब कारबाही गर्न तरुण दलको माग छ ।

प्रतिक्रिया दिनुहोस