इलाम नगरपालिकामा कांग्रेस–एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १५ : ३८
इलाम नगरपालिकामा कांग्रेस–एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन

काठमाडाैँ ।इलाम नगरपालिकामा स्थानीय निर्वाचनको सरगर्मी बढ्दो छ। विगतमा नेकपा एमालेले नगरपालिकाको मेयर–उपमेयरमा जित हासिल गरे पनि यस पटक जितको निरन्तरता कायम राख्न चुनौतीपूर्ण देखिएको छ।

विगतको स्थानीय सरकारले सुविधा सम्पन्न बजार क्षेत्रलाई मात्रै केन्द्रमा राखेर काम गरेको गुनासो इलाम वडा नम्बर–४ का स्थानीयबासीको छ।नेपाल पत्रकार महासंघ इलामका पूर्वसभापति सोमनाथ सुसेलीका अनुसार इलाममा गठबन्धन भन्दा पनि मुख्य दुई राजनीतिक दल नेपाली कांग्रेस र एमालेबीच नै स्पर्धा हुनेछ। २०७४ सालमा एमालेले इलामको नेतृत्व गरे पनि विकास निर्माण बजार क्षेत्रमा मात्र केन्द्रित रहेको बताएका सुसेलीले नगरका २, ३, ४, ११, १२ वडा अझै पनि दुर्गमकै रुपमा परिचित रहेको उल्लेख गरे।

सडकको व्यवस्था नहुँदा स्थानीय तहको उत्पादनलाई बजारसम्म पुर्‍याउन जनताले सकस व्यहोर्नु परेको उनको भनाइ छ। उले भने, ‘हिजोको स्थानीय तहले सुविधा सम्पन्न क्षेत्रमा सुविधा थपेको छ। विकास बजार केन्द्रित गरेको छ। तर, ग्रामीण भेगका जनता आफ्नो दैनिकीदेखि उत्पादनलाई बजारसम्म पुर्‍याउन सकिरहेका छैनन्। यस विषयमा हालका मेयर उम्मेदवारहरु जानकारसमेत छन्।’राजनीति, सञ्चारदेखि सामाजिक क्षेत्रमा समेत लामो समय सक्रिय गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार केदार थापाले जनभावनालाई पकड गर्न सक्ने सुसेलीको बुझाइ छ।

नगरमा विकासप्रेमीका रुपमा परिचित थापा स्वच्छ खानेपानी र स्वास्थ्य क्षेत्रमा देखिएका समस्या निराकरणमा केन्द्रित रहँदै आएका उनी बताउँछन्।इलाममा रोजगारीको उचित व्यवस्थापनसँगै आर्थिक पाटोमा समेत नगरवासीलाई राहत हुने काम गर्ने बताएका थापा नगरलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता ब्यक्त गर्छन्। उनी भन्छन्, ‘नगरभित्र सुशासन कायम राख्न, शान्ति सुरक्षा, स्वास्थ्य क्षेत्र, खानेपानी उपलब्ध, शिक्षामा काम गर्नु पर्नेछ। विगतको सरकारले के गर्‍यो गरेन भन्दा पनि हाम्रो दलले भोलिका दिनमा सर्वसाधारणमा प्रत्यक्ष अनुभूत हुने गरी काम गर्नेछ। नगरको सौन्दर्यता कायम राख्दै स्वच्छ हराभरा इलाम बनाउने छ।’

स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका थापाको नेतृत्वमा सुख्खाग्रस्त इलाममा खानेपानीको व्यवस्था भएको छ। उनको पहलमा करिब ४० किलोमिटर टाढा सन्दकपुरबाट ल्याएर इलाममा खानेपानीको व्यवस्था गरिएको थियो।

थापा भन्छन्, ‘विगतमा खानेपानीको हाहाकारलाई चिर्न सफल भएका छौँ। सन्दकपुरको गीताङ, राते र मेवा खोलाबाट इलामबासीका लागि स्वच्छ खानेपानीको व्यवस्था गरेका छौँ। काम गर्छौँ र गरेको काममा इलामबासीले विश्वास गरेका छन्।’

यससँगै थापा अनावश्यक कर हटाउने, स्वच्छ खानेपानी, महेन्द्र रत्न बहुमुखी क्याम्पको गुणस्तर सुधार, इलाम अस्पतालमा विशेषज्ञ चिकित्सक व्यस्थापन, लक्षित वर्गलाई सेवा सुविधामा सहुलियतका विषयमा जनतालाई सुविधा दिने प्रतिवद्धता जाहेर गर्छन्।

खानेपानी समस्या समाधानमा मात्र नभएर उनी जिल्ला अस्पताल इलामको अस्पताल विकास समितिको अध्यक्षमा समेत रहेर काम गरेका अनुभव भएको बताउँछन्।

थापा भन्छन्, ‘अस्पताललाई स्तरोन्नती गर्ने कार्य सबै इलामबासीको अगाडि रहेको छ। पहिले अस्पताल कस्तो थियो र अहिले अस्पतालमा उपचार अवस्था कस्तो रहेको छ? जनताले सहज रुपमा स्वास्थ्य पाउन सकेका छन्।’

यसअघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन जिल्ला सभापति हिमालयन कर्मचार्यलाई १ हजार ७ सय ७९ मतान्तरले हराउँदै एमालेका महेश बस्नेत नगर प्रमुख बनेका थिए। हाल इलाममा कांग्रेसलाई माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादीको साथ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस