माओवादी र कांग्रेसबीच झडप हुँदा दश घाइते

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १५ : २२
माओवादी र कांग्रेसबीच झडप हुँदा दश घाइते

काठमाडाैँ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका र आठबीसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ। चौरजहारी र आठबीसकोटमै छुट्टाछुट्टै शुक्रबार राति माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो। 

झडपमा दुईजना प्रहरी सहित दशजना घाइते भएका छन्। अस्थायी प्रहरी पोष्ट स्यालाखदीका अनुसार आठबीसकोट नगरपालिका-३ खदीमा दुई पक्षबीच भएको झगडा मिलाउने क्रममा दुईजना प्रहरी जवान बुद्धबहादुर थापा र चक्रबहादुर रोकाया घाइते भएका हुन्।

यस्तै माओवादी केन्द्र र कांग्रेसका गरी वडाध्यक्षका उम्मेदवार सहित पाँचजना घाइते भएका छन्। माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार केशरमान विक तथा कार्यकर्ता तुलबहादुर विक र सन्तोष विक घाइते भएको प्रहरीले जनाएको छ। त्यसैगरी नेपाली कांग्रेसका आठबिसकोट-३ का सीता बोहरा र डिल्लीराज बोहरा घाइते भएका छन्।

त्यसैगरी चौरजहारी नगरपालिका-१ घारीगाउँमा दुई पक्षबीच भएको झपडमा कांग्रेसका वडा सभापति सहित तीनजना घाइते भएका छन्। वडा सभापति यज्ञश विष्टतरुण दल चौरजहारीका अध्यक्ष त्रिलोचन गिरी र कांग्रेस कार्यकर्ता मनबहादुर विक घाइते भएका छन्। विष्ट र विकलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

दुवै ठाउँमा शुक्रबार राति झडप भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले जानकारी दिए। आठबीसकोटमा अहिले पनि मान्छेहरू जम्मा भइरहेको भन्ने खबर आएकाले त्यसलाई रोक्ने प्रयास भइरहेको डिएसपी सोतीले बताए।

प्रतिक्रिया दिनुहोस