काठमाडाैँ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै संख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ ।५०० मतदाता भएको केन्द्रमा १ सहायक कर्मचारी र ५०० भन्दा बढी मतदाता भएको मतदान केन्द्रमा २ सहायक कर्मचारी खटाउन लागिएको छ ।
सबै मतदान केन्द्रमा एक कार्यालय सहयोगी खटाउन लागिएको छ ।खटिनेहरूमा निजामती कर्मचारी, सरकारी स्वामित्वका संस्थानका कर्मचारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले बताए । निर्वाचनमा खटिने कर्मचारीका लागि आवश्यक तालिम सञ्चालन भइरहेको छ ।
‘भौगोलिकरूपमा विकट मोहन्याललगायत २ वटा पालिकामा निर्वाचन अधिकृतलाई नियुक्ति दिई खटाउन थालिएको छ,’ मुख्य निर्वाचन अधिकृत पनेरुले भने, ‘अन्य कर्मचारीलाई छिट्टै नियुक्ति दिएर खटाउने काम हुँदैछ ।’
जिल्लामा एक उपमहानगरपालिका (धनगढी) छ । टीकापुर, लम्कीचुहा, घोडाघोडी, गौरीगंगा, भजनी र गोदावरी गरी ६ नगरपालिका छन् । बर्दगोरिया, जानकी, जोशीपुर, कैलारी, मोहन्याल र चुरे गाउँपालिका गरी ६ गाउँपालिका छन् । मोहन्याल र चुरे गाउँपालिका चुरे पहाडी क्षेत्रका र अन्य पालिका तराई क्षेत्रका पालिका हुन् ।
कैलाली जिल्लाका लागि ४० लहर भएको मतपत्रको व्यवस्था गरिएको छ । मतपत्रमा २४० वटा चुनाव चिह्नको व्यवस्था छ । मतपत्रमा मान्यताप्राप्त राजनीतिक दल, राष्ट्रिय मन्यताप्राप्त नभई जिल्लामा दर्ता भएका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका लागि व्यवस्था गरिएका चुनाव चिह्न छन् ।
चुनावी चटारो बढेसँगै गाउँबस्ती यतिबेला चुनावी रौनकले छोपिएका छन् । उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षा गरेर बसेका छन् । फलस्वरूप आफ्नो पक्षमा माहौल बनाउन उम्मेदावारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन् । निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्न जनता आतुर भएर बसेको स्थानीय पुष्पराज ओझा बताउँछन् ।
‘एक पक्षको चुनावीसभा सकिएलगत्तै अर्को पक्षको सभा र भेला भइहाल्छ,’ ओझाले भने, ‘भेलामा उम्मेदवारले आफूलाई विजयी बनाएमा सबै समस्या समाधान गरिदिने अश्वासन दिएर जान्छन् ।’ उम्मेदवारहरूले आकर्षक नारा र अश्वासन बाँडेर जाने गरे पनि चुनावका बेला गर्ने गरिएका यी प्रतिबद्धता चुनाव जितेपछि पूरा नगर्ने प्रवृत्तिका कारण उम्मेदवारका प्रतिबद्धताप्रति भने मतदाता विश्वस्त हुन सकिरहेका छैनन् ।
चुनावी प्रचारप्रसारको शैली विगतका चुनावमा भन्दा फरक ढंगको देखिएको छ । सूचना प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबूक, टिकटक, ट्वीटरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ ।
‘हातहातमा मोबाइल हुनेहरूको इन्टरनेटमा बढेको पहुँचका कारण चुनावी प्रचारप्रसारमा सामाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ,’ स्थानीय पत्रकार टेकराज जोशीले भने, ‘विगतका चुनावमा सामाजिक सञ्जालको प्रयोग निकै न्यूनरूपमा भएको थियो ।’
चुनावी प्रचारका क्रममा विगतका चुनावका बेला व्यापकरूपमा हुने भित्तेलेखन, पम्पलेटिङ, माइकिङजस्ता प्रचारका शैली भने रोकिएका छन् । निर्वाचन हुने दिन नजिकिन लाग्दा विभिन्न पदका प्रत्यासी मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् । दलका र स्वतन्त्र उम्मेदवारले घरदैलो कार्यक्रम गरी मतदातालाई रिझाउने कसरत गरिरहेका हुन् ।
घरमा आउने एक पक्षको उम्मेदवारले मत माग्न नभ्याउँदै अर्को पक्षको उम्मेदवार घरको आँगनमा पुगेर मत मागिरहँदा रोचक बन्ने गरेको स्थानीय तेजराज उप्रेतीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, ११ : ४२
लेखकबाट थप