काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले एमाले अध्यक्ष केपी ओलीले आत्तिएर राजावादी शक्तिसँग चुनावी गठबन्धन गरेको बताएका छन् । ओली राजावादी, परिवर्तनविरोधी र दक्षिणपन्थी भएको आरोप उनले लगाए । मुलुकलाई प्रतिगमनमा लैजान र परिवर्तन संस्थागत गर्न जारी भएको संविधान च्यात्न दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेकाले ओली र ओलीको दल एमालेलाई जनताले निर्वाचनमार्फत दण्डित गर्ने उनको भनाइ थियो ।
उनले आसन्न स्थानीय तह निर्वाचनलाई संविधान च्याग्ने र बचाउनेबीचको जनमत संग्रहको संज्ञा दिए । ‘केपी ओलीजी आज राजावादी, पश्चगामी र प्रतिगामी शक्तिहरुसँग हातेमालो गर्ने ठाउँमा पुग्नुभएको छ । आफ्नै कर्मले संघमा र प्रदेशमा सरकार छैन । स्थानीय तहमा पराजित हुँदै हुनुहुन्छ, उहाँको दक्षिणपन्थी सोचका कारणले’, गृहजिल्ला रोल्पाको गंगादेवमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘हामी परिवर्तनलाई रक्षा गर्ने कित्तामा उभिएका छौं ।
संविधान बचाउने र च्यात्ने, लोकतान्त्रिक अधिकार र परिवर्तनका एजेण्डाहरुलाई रक्षा गर्ने या भत्काउने शक्तिबीचको जनमत संग्रहको रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ ।’ नेता पुनले निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार विजयी हुने भन्दै त्यसले मात्र संविधान र लोकतन्त्रको रक्षा तथा हजारौं शहीदहरुको बलिदानबाट स्थापित वर्तमान व्यवस्था थप सुदृढ हुने विश्वास व्यक्त गरे । एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबनन्धनलाई पाँच केजीको ढक र आफू एक्लै एक क्विन्टल भएको सार्वजनिक दाबी गरे पनि उनकै व्यवहारको त्यो खण्डित भइसकेको बताए ।
अन्तर्यमा ओली कमजोर भएको त्यस्तो अभिव्यक्ति दिएको आफूहरुले बुझेको भए पनि कमल थापा, परिवार दल र काँग्रेसले पार्टीबाट निकालेका गोविन्दराज जोशीसँग चुनावी गठबन्धन गरेपछि जनताले समेत उनी गलिसकेको कुरा जनताले समेत बुझ्ने मौका पाएको पुनले बताए । ‘उहाँ (ओली) पाँच दलसँग एक्लै लड्छु भनेर हुँकार गर्ने व्यक्तिले राजावादीसँग गठबन्धन गर्नुभएको छ । कसैले नामै नसुनेको, संविधानले चिन्दै नचिनेको परिवार दललाई लिएर गठबन्धन गर्नुभएको छ ।
काँग्रेस पार्टीले कारबाही गरेको तनहुँतिरका एकजना नेतालाई एउटा दल मानेर गठबन्धन गर्दै हुनुहुन्छ’, पुनले भने, ‘उहाँ क्विन्टलको कुरा गर्दै हुनुहुन्थ्यो, अहिले एक÷एक ग्राम खोज्दै हुनुहुन्छ र एक किलो पु¥याउनका लागि कोसिस गर्दै हुनुहुन्छ ।’ पाँच दलीय गठबन्धन सुदृढ र मजबुत बन्दै गएपछि ओली पराजित मानसिकतामा पुगेको दाबी उनले गरे । ओलीले जनता झुक्याउन बाहिर एकथरि र भित्र अर्कोथरि कुरा गर्ने गरेको आरोप लगाए ।
‘बाहिर धाकधक्कु लगाउनुभयो भने उहाँ धेरै गल्नुभएछ भन्ने हुन्छ । बाहिर एकताको विरोध गर्नुभयो भने एकता खोज्दै हुनुहुन्छ र एकताको कुरा गर्नुभयो भने टुटफुट गर्दै हुनुहुन्छ भन्ने हामी बुझ्छौं । ओलीजी जे भन्नुहुन्छ, त्यो गर्नुहुन्न । हिजो यो कुरा हामी मात्र बुझ्थ्यौं, तर आज आमजनताले चिन्ने मौका पाएका छन्’, उनले भने ।
ओली र एमालेको मुल नेतृत्व दक्षिणपन्थी यात्रामा रहेको भन्दै उनले संविधान च्याततुच पर्ने, व्यवस्था कमजोर पार्ने र अन्ततः पुरानै व्यवस्थामा फर्काउने उद्देश्य ओलीले राखेको बताए । ‘ओलीको संगत राजावादी र दक्षिणपन्थीहरुसँग छ । प्रतिगामीहरुसँग छ । ओली निरंकुश र प्रतिगामी हो भन्ने तथ्यहरुले पुष्टि गरेको छ । यो उहाँका व्यवहार र संगतहरुले पुष्टि गरेको छ’, पुनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीबाट तेस्रो पटक धोका खाने पक्षमा छैनौँ : वर्षमान पुन
गिरिबन्धु, कम्बोडिया, स्वीस बैंक र शेरा दरबार सबैको छानबिन गरौंः वर्षमान पुन
मजस्ता मन्त्री भएकाका छोराछोरीका आरक्षण कोटा बन्द गर्नुपर्छ: वर्षमान
संसदमा छलफल गरिरहेको विधेयक सरकारले अध्यादेशबाट ल्यायो : वर्षमान पुन
हठ गर्ने पार्टी र नेताहरु सकिन्छन् : वर्षमान पुन
कांग्रेसका नेताहरुले माओवादीसँग ओली सरकार फेर्न प्रस्ताव ल्याएका छन्: वर्षमान पुन