काठमाडौँ । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपाल निर्माण गर्ने संकल्प नेपाली कांग्रेससँग रहेकाे बताएका छन्।
प्रजातान्त्रिक विचार समाजले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।उनले भने,‘समुन्नत नेपाल निर्माण गर्ने हामीसँग संकल्प पनि छ। हामीसँग योजना पनि छ। ५ वर्ष यही गरिनुपर्दथ्यो। ५ वर्ष खेर गयो। हामी अबको ५ वर्ष खेर फाल्न चाहँदैनौँ। २०७९ देखि २०८४ सालसम्मको ५ वर्ष यो संकल्प हामी पूरा गर्न चाहन्छौँ। यो वाचा पूरा गर्न चाहन्छौँ। यो संकल्प र वाचा पूरा गरेर हामी गएको ५ वर्षको जुन क्षति छ, त्यो क्षतिलाई पनि पूरा गर्न चाहन्छौँ। हामीले समुन्नत नेपाल भन्ने संकल्प अघि सार्दै गर्दा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले सार्नुभएको समुन्नत नेपालको बारेमा सोच्ने हो। त्यसमै टेकेर हामीले हाम्रो अगाडिको यात्रा तय गर्ने कोशिस गर्नेछौँ।’
महामन्त्री थापाले यसपटकको स्थानीय निर्वाचनमा कांग्रेसबाट जित्ने सदस्यहरूले स्राेतसाधनको अपचलन नगर्ने दाबी गरे।उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक आधार नै नरहेको पनि दाबी गरेका छन्।
यसैगरी, महामन्त्री थापाले गत ५ वर्षमा नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकहरूले गरेको उपलब्धिको बारेमा जानकारी गराउनु पर्ने पनि बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १२ : ३५
लेखकबाट थप