राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै आक्षेपहरू लाग्ने गरेको छ -सुनिता डंगाेल

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १६ : ०९
राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै आक्षेपहरू लाग्ने गरेको छ -सुनिता डंगाेल

काठमाडौं । एमालेको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरकाे उम्मेदवार बनेकी सुनिता डंगोलले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न गलत आरोप लगाइएको बताएकी छन् । आफूले आफ्नो शैक्षिक योग्यताको आधारमा नै तत्कालीन अवस्थामा काठमाडौं महानगरपालिकामा छैटौँ तहको कर्मचारी भएर सेवासुविधा लिएको सुनिताको भनाइ छ ।

‘राजनीतिक करिअर अगाडि बढाइराख्दा थुप्रै खालका आक्षेपहरू लाग्ने गरेको छ । यो चुनावको बेला गरिने प्रोपोगाण्डा मात्र हो,’ सुनिताले भनिन् । आफूले लगभग चार वर्ष सहायक विज्ञको रूपमा काम गरेको उनको भनाइ छ । तलब भत्ता ८० हजार नभई लगभग ४५ हजारको हाराहारी लिएको बताइन् । ‘तलब मासिक ८० हजार लिएको थियो भनिएको छ । छैटौँ तहको कर्मचारीले लिने सेवासुविधा मैले लिएकी थिएँ । मेरो त्यही ४० देखि ४५ हजारसम्म थियो,’ सुनिताले भनिन् ।  

नगरसभाबाट भएको निर्णयअनुसार नै आफू सहायक विज्ञको रूपमा काम गरेको भन्दै उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले तपाईं विज्ञता हामीलाई चाहियो भनेपछि मैले काम गरेकी हुँ ।’ उजुरी परेको सम्बन्धनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले पनि आफ्नो जानकारीमा नआएको बताए । ‘उजुरी परेकोबारे धेरै पत्रकार साथीहरूले फोन गर्नुभएको छ । तर, मेरो जानकारीमा छैन्,’ भण्डारीले भने । 

काठमाडौं महानगरपालिकामा विज्ञको रूपमा काम गर्दा शैक्षिक योग्यता ढाँटेर चार वर्ष काम गरेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया दिनुहोस