काठमाडौं। कवाड व्यवसायी समाज नेपालले काठमाडौं महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । कवाड संकलकलाई गुण्डागर्दी शैलीमा अपहरणगरी यातना दिने काम गरेको भन्दै समाजले यस्ता गतिविधि नरोके महानगरविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको हो ।
समाजका अध्यक्ष रामकेवल गुप्ताले मंगलबार जारी गरेको विज्ञप्तिमा आफ्नो पेशा-व्यवसायको संरक्षण गर्न जस्तोसुकै कदम चाल्न तयार रहेको उल्लेख छ ।
उनका अनुसार सर्लाही घर भई हाल काठमाडौंको अनामनगर क्षेत्रमा कवाड संकलन गर्दै आएका धिरेन्द्र यादव र कोटेश्वर क्षेत्रमा कवाड संकलन गर्ने अर्का एक व्यक्तिलाई मंगलबार महानगर प्रहरीले गुण्डागर्दी शैलीमा अपहरण गरी सुन्धारा बागदरबार लगेर ३ घण्टासम्म राखेर यातना दिने काम गरेको थियो ।
'कवाड संकलकको साइकल र समान जफतगरी अभद्र व्यवहार गरेको छ । कवाड व्यवसायी र संकलकमाथि भइरहेको यो प्रकारको गुन्डागर्दी तत्काल नरोके काठमाडौं महानगरविरुद्धमा कडा आन्दोलन गर्ने र आफ्नो पेशा व्यवसायको संरक्षणको लागि जस्तोसुकै कदम चाल्न तयार रहेको कुरा अवगत गराउन चाहन्छौं,' विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ माघ २०८१, १३ : २५
लेखकबाट थप