नमूना नगर तिलोत्तमाको प्रमुखमा मोहन चापागाई र गृहमन्त्रीका भाइको प्रतिस्पर्धा

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १५ : ११
नमूना नगर तिलोत्तमाको प्रमुखमा मोहन चापागाई र गृहमन्त्रीका भाइको प्रतिस्पर्धा

काठमाडौं ।राम्रो काम गरेर देशभर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदैछ ।

२०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएका थिए । नगरमा अहिले एमालेबाट मोहन चापागाईं र कांग्रेसबाट रामकृष्ण खाँण उम्मेदवार छन् ।गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण गत निर्वाचनमा घिमिरेसँग पराजित भएका थिए ।

तिलोत्तमामा एमाले संगठन बलियो छ । तिलोत्तमा रुपन्देही क्षेत्र नम्बर ३ मा पर्छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमालेका सादगी नेता घनश्याम भुसाल निर्वाचित भएका थिए भने पराजित हुने डरले गृहमन्त्री खाँण प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा खुम्चिएका थिए ।एमाले विगतको बिरासतलाई जोगाउँदै यसपटक पनि नगरको नेतृत्व गर्ने गरी चुनावमा होमिएको छ भने गृहमन्त्री खाँण आफू प्रतिष्ठाका लागि भए पनि भाइलाई जिताउनुपर्ने गरी लागेका छन् । त्यसैले तिलोत्तमाको निर्वाचन पेचिलो छ ।

नगरमा एमालेले गरेको राम्रो कामलाई निन्तरता दिँदै नगरलाई समुन्नत बनाउन एमालेले चापागाईलाई अगाडि सारेको छ । चापागाईले पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संगठनमा रहेर काम गरेका छन् । चापागाईमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता छ । उनी आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् ।

यसअघिको निर्वाचनमा एमालेले मेयर/उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा जितेको थियो ।

२०७४ सालको निर्वाचनमा तिलोत्तमामा घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाँणले १६ हजार २६४ मत प्राप्त गरेका थिए । उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २२४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गीता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् । 

२०७३ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईलाई सञ्चार विज्ञको रूपमा नियुक्त गरेका थिए । खाँण कांग्रेस रुपन्देहीका सभापति हुन् । उम्मेदवार चापागाईले आफू निर्वाचित भए तिलोत्तमाको पहिचानलाई जोगाउँदै अझै विकास गर्दै जाने बताए ।

गत निर्वाचनमा पराजय व्यहोरेका खाँणलाई गृहमन्त्री बालकृष्ण खाँणले अन्तिम समय आएर अगाडि सारेका छन् । तिलोत्तमालाई आधुनिक र प्रविधियुक्त स्मार्ट सिटीको रूपमा विकास गर्ने लक्ष्य र उद्देश्य अनुरूप उम्मेदवारी दिएको खाँण बताउँछन् । कृषिका लागि उर्वरभूमि, वन, वातावरण, औद्योगिक र पर्यटकीय लगानीका प्रशस्त सम्भावना बोकेको तिलोत्तमालाई नमूना नगर बनाउने योजना अगाडि सारिएको छ ।

आफू निर्वाचित भए सेवासुविधा नलिने घोषणा खाँणले गरेका छन् । 

२०४० सालको सुरजपुरा घटनामा स्व. गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको सुरक्षार्थ खटिएका उनी घटनालगत्तै घाइतेको उपचार तथा उद्दारमा सक्रियतापूर्वक लागेका थिए । २०४२ सालको सत्याग्रहका बेला अग्रमोर्चामै खटिएका उनी भाग्यवश जेल जानबाट जोगिए पनि जेल परेकाहरूको रिहाइ, खानपान, खबर आदानप्रदानको काममा सक्रिय भए ।

२०४६ सालको जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए ।

कांग्रेस र जनमुक्तिको गठबन्धन हुँदा पनि नगर प्रमुखमा घिमिरे विजयी भएका थिए तर यसअघिको जस्तो परिस्थिति अहिले छैन । माओवादी, कांग्रेसको गठबन्धन बनेको छ । गठबन्धन भनिए पनि अन्तिम समयमा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ ।

समाजवादीले नगर प्रमुखमा आशा चौधरी, उपप्रमुखमा सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस