बिल विजकबिना अवैध सामान बोक्ने सवारी पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १५ : ३३
बिल विजकबिना अवैध सामान बोक्ने सवारी पक्राउ

काठमाडौं ।  बिल विजकभन्दा ३४ लाख २७ हजार बढी मूल्यको सामान बोकेर वीरगन्ज बजार तर्फ जाँदै गरेका दुईवटा सवारीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सियास्थित सुक्खा बन्दरगाह नजिकको सडकखण्डबाट सो मूल्य बराबरको बिनाबिल बिजकको सामान बोकेर वीरगन्जतर्फ जाँदै गरेका ती सवारीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सवारीमध्ये ना ३ ख १८८४ नम्बरको ट्रकमा बिल बिजकभन्दा ४ लाख ९७ हजार ३६३ बढी र बीआर २२ जीए ४९१६ नम्बरको पिकअप भ्यानमा २९ लाख २९ हजार ८८६ रुपैयाँ बढीको सामान फेला परेको छ। रीत नपुगेको सामान फेला परेपछि ती दुवै सवारीलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल हे. क्वा. गण नम्बर १३ ले जनाएको छ। ट्रकमा प्रिन्टेड पेपर बक्स लगायतका सामान रहेको र भ्यानमा कपडा लोड भेटियो। विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएर चेकजाँच गर्दा सो सामान सहितका ती सवारी प्रहरी नियन्त्रणमा परेको सशस्त्र प्रहरीको भनाइ छ।

हिजो साँझ सशस्त्र प्रहरी नायव उपरिक्षक निर्मलकुमार थापा र सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन थापाको कमाण्डमा अलग–अलग गस्तीमा गएको टोलीले राती ती सवारीलाई चेकजाँच गरी कैफियत फेला परेपछि नियन्त्रणमा लिएको गण नम्बर १३ का सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद सुवेदीले बताए। रीत नपुगेका अवैध सामान बोकेका सवारीको पनि मूल्य कायम गरी सामान र सवारी समेतको कुल २६ ला ९७ हजार ३६३ र ३९ लाख २९ हजार ८८६ मूल्य कायम गरी दुवै सवारीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उनको भनाइ छ।

खुला सिमानाको फाइदा उठाउँदै विभिन्न चाडपर्वका समयमा अझ अवैध मालबस्तु निर्यात पैठारी र ढुवानी हुन सक्ने आशंकामा यहाँको सशस्त्र प्रहरी अझ चनाखो भएर लागेका वेला हरेक दिनजसो रीत नपुगेका सामान बरामद र पैठारी हुने क्रम खुलेको प्रहरी उपरीक्षक सुवेदीले बताए। यसलाई निस्तेज पार्न सीमा र आसपासमा खटेको सशस्त्र प्रहरी अझ गम्भिर भएर लागिरहेको पनि सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले बताए।  

प्रतिक्रिया दिनुहोस