विपद् व्यवस्थापन बैठक

बेपत्ताका परिवारलाई मृतकसरह राहत दिने निर्णय, खोज-उद्धारलाई तीव्रता दिइने

सफल खबर संवाददाता

सोमबार, १४ असोज २०८१, ११ : ४६
बेपत्ताका परिवारलाई मृतकसरह राहत दिने निर्णय, खोज-उद्धारलाई तीव्रता दिइने

काठमाडौं । विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपद्‍बाट बेपत्ता व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताए ।

समितिले खोज, उद्धार र राहत कार्यलाई तीव्रता दिने निर्णय गरेको छ । मनसुनजन्य विपद्का कारण मृत्यु भएका सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

खोज उद्धारका बाँकी कार्यलाई निरन्तरता दिँदै मौसमजन्य विपद् प्रभावितका लागि राहत वितरणको प्रक्रिया एकद्वारा प्रणालीबाट तत्काल शुरू गर्ने निर्णय पनि बैठकले गरेको छ । विपद्मा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणका लागि ७ दिनभित्र अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने निर्णय गरिएो तिवारीले बताए । यो जिल्ला विपद् व्यवस्थापन समितिबाट उपलब्ध हुनेछ ।

त्यस्तै राजमार्गमा अलपत्र परी गन्तव्यमा पुग्न नसकेका यात्रुलाई गन्तव्यसम्म पुग्ने व्यवस्था गर्न अवरुद्ध भएका सडक खण्डहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मिलाउने निर्णय गरेको छ ।

क्षतिग्रस्त सडक, सार्वजनिक भवन, खानेपानी, विद्युत, विद्यालय, स्वस्थ्य संस्थाहरुको पुनः निर्माण कार्य सम्बन्धित मन्त्रालयले अघि बढाउने निर्णय पनि गरिएको छ । जनधनको क्षति यकिन गर्न १५ दिनको समयसीमा दिएर टास्क फोर्स बनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस