हेटौँडास्थित अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी एसियाली केन्द्र बनाउन मन्त्री पौडेलको आग्रह

सफल खबर संवाददाता

मंगलबार, २९ असोज २०८१, १९ : ४९
हेटौँडास्थित अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी एसियाली केन्द्र बनाउन मन्त्री पौडेलको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले हेटौँडामा रहेको विश्व स्वास्थ्य संगठनको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रलाई क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सघाउन आग्रह गरेका छन् ।

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनका क्रममा संगठनका महानिर्देशक डाक्टर टेड्रोस गिब्रिएससँगको कुराकानीका क्रममा स्वास्थ्यमन्त्री पौडेलले यस्तो आग्रह गरेका हुन् ।

नेपालमात्र नभएर दक्षिण पूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने भन्दै मन्त्री पौडेलले यसका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए ।

जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोसले नेपालले संगठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्त्वपूर्ण योगदान दिएको चर्चा गर्दै यस विषयमा सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिए ।

सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेट गरे । उनले नेपाल बालबालिकामा हुने क्यान्सरसँग जुध्न लागिपरेको भन्दै बाल क्यान्सर नियन्त्रणका लागि खोपको सहायताका लागि आग्रह गरे ।

मन्त्रालयले सानै उमेरदेखि क्यान्सर नियन्त्रणका लागि योजना बनाएर काम थालेको भन्दै मन्त्री पौडेलले गाभीबाट प्राप्त हुने सहयोगले साथ मिल्ने बताए ।

मन्त्री पौडेलले जर्मनीका संघीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँग पनि भेटवार्ता गर्दै नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार अघि बढाउने बताए ।

जर्मन मन्त्रीले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए । जवाफमा मन्त्री पौडेलले डिजिटल प्रणालीको सुधार अघि बढाउने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस