युक्रेनमा तीन बेलायती पूर्वसैनिक मारिएकोबारे अनुसन्धान सुरु

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, १४ : ०४
युक्रेनमा तीन बेलायती पूर्वसैनिक मारिएकोबारे अनुसन्धान सुरु

काठमाडौं    रुसी आक्रमणमा युक्रेनमा तीन जना बेलायती पूर्व सैनिक मारिएको समाचारबारे बेलायतको विदेशमन्त्रालयले अनुसन्धान थालेको छ । आइतबार पोल्यान्डकोसीमानजिक याभोरिभ सैनिक तालिम केन्द्रमा रुसले हमला गर्दा ३ जना बेलायती पूर्वसैनिक समेत मारिएको हुनसक्ने भन्ने समाचारबारे अनुसन्धान थालिएको बेलायतबाट प्रकाशित हुने इभिनिङ स्ट्यान्डर्ड पत्रिकाले जनाएको छ ।

बेलायती अनुसन्धानकर्ताहरूले यसका लागि युक्रेनी सुरक्षा अधिकारीहरूसँग पनि जानकारी मागिरहेको जनाइएको छ ।यसअघि बेलायतको डेली मिरर पत्रिकाले मारिएका बेलायतीहरू युक्रेनमा लड्न नभई अरु नै कामका लागि गएको हुनसक्ने जनाएको थियो । यद्यपि उनीहरु के कामले युक्रेन पुगेका थिए वा उनीहरु बेलायती विशेष फौजको कुन शाखामा कार्यरत थिए भन्नेबारे केही खुलाइएको छैन ।

आइतबार रुसले गरेको हमलामा ३५ जना मारिएको युक्रेनी पक्षले जनाएको थियो तर रुसी रक्षामन्त्रालयले भने उक्त आक्रमणमा १८० भन्दा धेरै विदेशी भाडाका लडाकु मारिएको दाबी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस