कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

सफल खबर संवाददाता

मंगलबार, ०१ चैत्र २०७८, ११ : ०५
कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

काठमाडौं ।  तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो ।

गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए। “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने, ‘यसलाई व्यवस्थित गरेर जलविहार यात्रा सञ्चालन गर्छौँ ।”

गाउँपालिकाले यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । घिरिङ –१ बैडीबाट घिरिङ –४ करुवाटारसम्म जलविहार सञ्चालन गरिने जनाइएको छ । यसअघि घिरिङसँग सिमाना जोडिएको चापाकोट, बौदीकालीको संयुक्त पहलमा जलविहार सञ्चालन गर्न खोजिए पनि सम्भव भएको थिएन । जलविहार गर्न आउनेलाई बास बस्नका लागि घरबास पनि सञ्चालन गरिएको छ । पुट्टारको घरबास, दृश्यावलोकन केन्द्रलगायतलाई जोडेर जलविहार सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष रानाले बताए। 

प्रतिक्रिया दिनुहोस