गाउँपालिकाको पहलमा मोतियाबिन्दुको उपचार

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, १४ : ४६
गाउँपालिकाको पहलमा मोतियाबिन्दुको उपचार

काठमाडौं ।मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको पहलमा १३ जना विपन्न चेपाङको आँखाको उपचार भएको छ । राक्सिराङ गाउँपालिका(७ का उनीहरूको मोतियाबिन्दुको शल्यक्रिया गरिएको हो।  

हेटौंडा सामुदायिक आँखा अस्पतालमा मोतियाबिन्दको उपचारपछि आँखाको ज्योति पाएका उनीहरू खुसी छन् । एक वर्षअघि गाउँमै राक्सिराङ गाउँपालिकाको संयोजनमा स्वास्थ्य शिविर सञ्चालन हुँदा ९८ जनाको आँखा परीक्षण गरिएको थियो । तीमध्ये मोतियाबिन्दु भएका १३ जनाको मोतियाबिन्दु उपचार गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए ।

उनीहरूलाई गाउँपालिकाले अस्पतालसम्म ल्याउने, बस्ने र लैजाने व्यवस्था गरेर आँखाको उपचार गरिदिएको उनले बताए । 
आँखाको उपचार गरी घर फर्कन लागेका उनीहरूलाई गाउँपालिका अध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, राक्सिराङ स्वास्थ्य शाखा प्रमुख विजय कपारीले सामुदायी आँखा अस्पताल पुगेर फलफूल वितरण गरेका थिए ।

विपन्न चेपाङसँगै एकसय ६३ जना मकवानपुर र बाराका विपन्न आँखाका बिरामीहरूले उपचार पाएको हेटौंडा सामुदायिक आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत सुधीर झाले बताए । 

प्रतिक्रिया दिनुहोस