नबिल बैंकले नेपाल बंगलादेश बैंक एक्विजिसन गर्ने

सफल खबर संवाददाता

सोमबार, ३० फागुन २०७८, १४ : ०८
नबिल बैंकले नेपाल बंगलादेश बैंक एक्विजिसन गर्ने

 
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो।

एनबी बैंकको एक्विजिसनपश्चात् नबिल बैंक चुक्ता पूँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने भएको छ। हाल नबिल बैंकको चुक्ता पूँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ।

एक्विजिसनपश्चात् हाल सहमत गरिएको स्वाप रेसियोअनुरुप बैंकको चुक्ता पूँजी करिब २३ अर्बको हुनेछ।पुस मसान्तसम्ममा नबिल बैंकसँग २९ अर्बभन्दा बढी र एनबी बैंकसँग १४ अर्बभन्दा बढी प्राथमिक पूँजी रहेकोमा एक्विजिसनपश्चात् बैंकको प्राथमिक पूँजी ४४ अर्बभन्दा बढी हुनेछ।यसैगरी ६ महिनाको अवधिमा नबिल बैंकको खुद मुनाफा २ अर्ब १८ करोडभन्दा बढी तथा एनबी बैंकको ८१ करोडभन्दा बढी रहेकोमा एक्विजिसनपश्चात् बैंकको खुद मुनाफा २ अर्ब ९९ करोडभन्दा बढी कायम हुनेछ।

यस एक्विजिसनपश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ। साथै एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्ने भएको छ। 

प्रतिक्रिया दिनुहोस