चितवन । निर्माणाधीन नारायणगढ–गोन्द्राङ छ लेनको सडकअन्तर्गत चार किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने तयारी भएको छ । दुई लेनको पूर्वपश्चिम राजमार्ग बजार क्षेत्रमा छ लेनमा विस्तार भइरहेको छ । १६ महिना अगाडिबाट सुरु भएको नारायणगढको पुलचोक गोन्द्राङ छ किलोमिटर लामो सडकमा मुआब्जा विवाद, विद्युत् पोल हटाउनेलगायतका समस्याले गर्दा काममा ढिलाइ भएको हो ।
अहिले एक स्थानमा बाहेक अन्यत्र समस्या नभएपछि कामले गति लिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले बताए । भरतपुर विमानस्थलअगाडि रहेको एक स्थानमा मुआब्जा विवादले मुद्दा सर्वोच्च अदालतमा पुगेको छ । त्यो छिट्टै फैसला हुने क्रममा रहेकाले अब काममा कुनै अवरोध नहुने जानकारी खनालले दिए। गत वर्ष कात्तिक ११ बाट काम सुरु भएको यो सडकमा अहिले पूर्वतर्फ गोन्द्राङबाट कालोपत्रेका लागि तयारी गर्न थालिएको छ ।
डिभिजन सडक कार्यालयका अनुसार नाली निर्माण, फुटपाथ, स्थानीय साधन गुड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कलभर्ट निर्माण सकिएको छ । “गोन्द्राङदेखि चौबीसकोठी चार किलोमिटर क्षेत्र यसै आर्थिक वर्षको असारसम्ममा निर्माण पूरा गर्ने लक्ष्य लिएका छौँ”, सूचना अधिकारी खनालले भने ।
एक अर्ब १२ करोड रुपियाँको लागतमा निर्माणाधीन सडकको बीच भागमा हरियाली बनाइने भएको छ । “पाँच मिटरको हरियाली बनाउन संरचना निर्माण गरिन्छ,” खनालले भन्नुभयो, “दायाँबायाँ साढे नौ मिटरको सडक बन्ने छ । मुख्य राजमार्गबाहेक दुवैतर्फ स्थानीय रुटका गाडी चल्नका लागि साढे पाँच मिटरको सडक निर्माण गरिन्छ । ”
२०७९ फागुन १० सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सडकको अहिलेसम्म ३२ प्रतिशत काम पूरा भएको जानकारी उनले दिए । “अब कालोपत्रे गर्न थालेपछि कामको गति लिनेछ,” खनालले भने । गोरखापत्र दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २३ फागुन २०७८, ०८ : २३
लेखकबाट थप