राष्ट्रिय फुटसल टोलीको प्रशिक्षण भोलिबाट, नेपाल कठिन समूहमा

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १४ : ५९
राष्ट्रिय फुटसल टोलीको प्रशिक्षण भोलिबाट, नेपाल कठिन समूहमा

काठमाडौं ।  कीर्गिस्तानमा आगामी अप्रिलमा आयोजना हुने एएफसी फुटसल एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटसल टिमको प्रशिक्षण भोलिबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले चार दिन काठमाडौंंमा खेलाडीलाई सुरुआती प्रशिक्षण दिएर पोखरामा बन्दसत्र सुरु गर्ने जनाएको छ । प्रशिक्षक गौरव बस्नेतले ३२ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएका छन् । सुरुआती चार दिनको प्रशिक्षण चुच्चेपाटीस्थित भाटभटेनी फुटसलमा हुनेछ । 

१ देखि १५ अप्रिलसम्म आयोजना हुने प्रतियोगितामा नेपाल समूह ‘बी’मा रहेको छ । नेपाल सम्मिलित समूहमा उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान जस्ता बलिया टोली छन् । 
यस प्रतियोगिताबाट नेपालले पहिलो पटक फुटसल वरीयता पाउनेछ । फुटसल वरीयता पाउन कम्तिमा पनि आधिकारिक १० खेल खेलेको हुनुपर्छ । नेपालले यसअघि दुई पटक एएफसी फुटसलमा सहभागिता जनाएको छ ।   

प्रतिक्रिया दिनुहोस