प्रहरीको मोटरसाइकलमा भागेका कैदी पक्राउ

सफल खबर संवाददाता

सोमबार, १० माघ २०७८, १५ : २३
प्रहरीको मोटरसाइकलमा भागेका कैदी पक्राउ

दाङ । जिल्ला कारागार घोराहीबाट फरार रहेका कैदी पक्राउ परेका छन् । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भई थुनामा रहेका राजपुर गाउँपालिकाका २८ वर्षीय यामराज परियारलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही कारागारका नाइके रहेका परियार छालाको उपचारका लागि अस्पताल गएका बेला त्यहीबाट भागेका थिए । उनी प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नंको मोटरसाइकल चढेर अस्पताल गएका थिए ।उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजाने भनिए पनि उनीहरु अस्पताल नगई दुई जना महिलालाई लिएर सिधै होटलमा गएको अनुसन्धानबाट खुलेको थियाे । 

होटलमा बसेका बेला परियारले प्रहरी जवान चौधरी बसेको कोठाको चुक्कुल बाहिरबाट लगाएर प्रहरीकै मोटरसाइल लिएर भागेको बताइएको थियो । भाग्न प्रयोग गरेको मोटरसाइकल लमही नगरपालिका-६ बेलदमारको जंगलमा फेला परेको थियो। 

उक्त प्रकरणमा मुछिएका प्रहरी जवान चौधरी र एक महिला पुर्पक्षका जेल चलान भइसकेका छन् भने घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरी  र प्रहरी हवल्दार गणेशकुमार थारु  धरौटीमा छुटेका छन् । घटनाबारे विस्तृत जानकारी आजै पत्रकार सम्मेलन गरेर दिइने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस