यात्रुले फेरि खोलिदिए बुद्ध एयरको आपत्‌कालीन ढोका

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, १३ : १६
यात्रुले फेरि खोलिदिए बुद्ध एयरको आपत्‌कालीन ढोका

काठमाडौ । विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयरको आपत्‌कालीन ढोका एक यात्रुले खोलिदिएका छन्। 

बुद्ध एयरले दिएको जानकारीअनुसार बिहीबार बिहान जनकपुर विमानस्थलको अनुकूल मौसम नहुँदा काठमाडौँबाट गएको जहाज विराटनगरमा अवतरण गरेको थियो।

यस क्रममा यात्रुले विराटनगर विमानस्थलमा विमानको आपत्‌कालीन ढोका खोलिदिएका हुन्। 

यात्रुले आपत्‌कालीन ढोका खोल्दा उडान प्रक्रिया नै अवरुद्ध भई उडान तालिका प्रभावित भएको बुद्ध एयरले जनाएको छ। 

योसमेत ९ दिनभित्र बुद्धका विमानमा यात्रुले आपत्‌कालीन ढोका खोलिदिएका ३ घटना भइसकेका छन्। 

बुद्ध एयरले दिएको जानकारीअनुसार अक्टोबार २ मा विराटनगरबाट काठमाडौँ, अक्टोबर ७ मा नेपालगन्जबाट काठमाडौँ र आज (अक्टोबर १०) फेरि विराटनगरबाट जनकपुर उडानमा रहेको बुद्ध एयर विमानको इमरजेन्सी ढोका यात्रुले खोलिदिएका हुन्।