मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, १८ : २०
मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार खर्च जुटाउन नसक्दा अन्योलमा रहेका छन् ।

तीन पुस्ता हलिया बसेका दामोदर सडक छेउमा रहेको सानो झोपडीमा बस्दै आएका छन् । उनी झोपडीकै एक कोठामा सिलाई मेसिन राखेर ग्राहकका पुराना लुगाफाँटा सिउने काम गर्दै आएका छन् । गतिलो सीप नहुँदा नयाँ लुगा सिउनेहरूमध्ये थोरै मात्र उनी कहाँ पुग्छन् ।

महिनामा हुने दुई चार हजार कमाइले घरको नुन, तेल, चामल, पिठो, दालको जोहो मिलाउन दमाई परिवारलाई धौधौ पर्छ । कमाई नभएका बेला भोक भोकै झोपडीमा पानी मात्रै पिएर बस्नु परेको पीडा उनीसँग रहेको छ । 

दामोदरका बुवा बाजे दार्चुलाको बस्कोटमा फुर्सदको बेला निश्चित अन्न लिएर कपडा सिउने (खलो प्रथा) मा काम गर्थे । आफ्नो स्वामित्वको जग्गा थिएन । त्यसले परिवारको गुजारा चल्न नसकेपछि दमाइका बुवा बाजेले गाउँका मुखियाको घरमा हलिया बसेर काम गरेका थिए ।

पहाडमा बसेर जीविका चलाउन गाह्रो हुन थालेपछि दामोदर बुवासँगै विसं २०३६ सालमा सहज जीवनयापनको खोजीमा तराई झरे । “कञ्चनपुरका धेरै ठाउँमा बस्यौँ”, उनले भने, “कुनै ठाउँमा पनि स्थायी रूपले बस्न पाएनौँ, जहाँ बस्न खोज्थ्यौँ, त्यहाँबाट कतै वनको जग्गा त कतै दलित भनेर हटाइन्थ्यो ।” स्थायी रूपमा बस्नका लागि जग्गा खरिद गर्ने सामर्थ्य नहुँदा घुमन्ते रूपमा जीवन बिताउनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् ।

कमाई गर्ने एक मात्रै साधन हातले चलाउने सिलाई मेसिन मात्रै थियो । “मेसिनले कपडा सिउँदा आउने खलो (निश्चित अन्न)ले जीविका चल्थ्यो”, उनले भने, “जिउ ढाक्ने लुगाफाटो अरूसँग माग्नुपर्ने हुन्थ्यो ।” विसं २०६५को भदौमा हलिया मुक्तिको घोषणासँगै खलो प्रथाको पनि अन्त्य भयो । त्यसपछि हाते सिलाई  गर्ने मेसिन चलाएर दमाई परिवारले जीविका चलाउँदै आएका थिए ।

राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपाल र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरको समन्वयमा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आर्थिक सहयोगमा सञ्चालित ब्रीज परियोजना अन्तर्गत दमाईले सिलाई  गर्ने मेसिन पाएका छन् । मेसिन पाएपछि घर खर्च चलाउन उहाँलाई  केही सहज भएको छ । “आर्थिक अभावमा पहिला हातैले चलाउने सिलाई मेसिनले छिटो छरितो रूपमा काम चलाउन गाह्रो हुन्थ्यो”, उनले भने, “खुट्टाले चलाउने मेसिन पाएपछि काम गर्न छिटो छरितो त भएको छ, कपडा सिउने सीप पुरानो छ, युवाहरूले रुचाउने आधुनिक पहिरन बनाउनका लागि तालिमको आवश्यकता छ, त्यो पाएको छैन, मेसिन पाएर पनि सोचे जस्तो आम्दानी बढेको छैन ।”

प्रतिक्रिया दिनुहोस