वसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती

सफल खबर संवाददाता

विहीबार, २४ असोज २०८१, १८ : ५५
वसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती

काठमाडौँ । काठमाडौँको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो ।

गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।

सो अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर फूलपाती बढाइँ समेत गरेको छ । फूलपातीको डोलीसहित नेपाली सेनाको टोलीले मंगल धुन पनि बजाएको थियो ।

बडा दशैंको सातौँ दिन घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने त्यसैलाई फूलपाती भनिन्छ ।

फूलपातीलाई नौवटी देवीको प्रतीकका रूपमा भित्राइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस