लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित, अर्को बैठक ११ गते

सफल खबर संवाददाता

सोमबार, ०८ कार्तिक २०७८, १५ : २१
लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित, अर्को बैठक ११ गते

रूपन्देही । आजका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ । अबको बैठक यही कात्तिक ११ गते बिहीबार बोलाइएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले आफ्ना वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका बोलाइएको बैठक स्थगित गरिएको जनाइएको छ ।

सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा सोमबार बोलाइएको बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।यसअघि पनि एमाले विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित गरिएको थियो । बैठकमा सहभागिता जनाए पनि सूर्य चिह्नबाट चुनाव लडेर अहिलेको सरकारमा सहभागी भएका दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार बैठक अवरुद्ध गर्दै आएको छ ।

नवलपरासी पश्चिमबाट सूर्य चिन्हबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य अजयबहादुर शाही र दाङको उपनिर्वाचनमा नेकपाबाट विजयी भएर नेकपा विघटनपछि माओवादी केन्द्र रोजेकी विमला खत्री ओलीलाई एमालेले कारबाही गरेकाले पदमुक्त गर्न सभामुखलाई दबाब दिँदै आएको छ ।

विरोधको कार्यक्रम अब चल्ने सदनमा पनि जारी रहने एमाले संसदीय दलका प्रमुख भूमिश्वर ढकालले बताए । यसअघि असोज २० गते बसेको प्रदेशसभा बैठकले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्दै नया बजेट पेस गरेको थियो । साउन २८ गठबन्धनको सरकार बनेको र भदौ १ गतेदेखि शुरू भएको हिउँदे अधिवेशन एमालेले निरन्तर अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस