सङ्खुवासभा हत्याकाण्ड : हेपाइ खप्न नसकेर परिवारकै विनाश !

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, १३ : ४१
सङ्खुवासभा हत्याकाण्ड : हेपाइ खप्न नसकेर परिवारकै विनाश !

सङ्खुवासभा । सङ्खुवासभा हत्याकाण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।  हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की नातामा काका भतिजा पर्छन् । 

‘मृतक र आरोपी १३ दिनभित्रका काका–भतिजा हुन्’ प्रदेश–१ प्रहरी कार्यालयका एक उच्च अधिकृतका अनुसार आवेगमा लोकबहादुर एक्लैले तेजबहादुरका परिवारकै विनाश गरेको हो । प्रहरीले एक्लै लोकबहादुरले तेजबहादुरका ६ जनाको ज्यान लिएको अनुसन्धानबाट थाहा भएको जनाएको छ ।

भदौ २१ मा विहान मादी नगरपालिका–१ घर भएकी आमा पार्वती कार्की, छोरा तेजबहादुर कार्की, बुहारी कमला, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति ८ वर्षका विपिन कार्की र ५ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । शव फरक–फरक चार स्थानमा फेला परेको थियो ।

संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका डिएसपी रुगम कुँवर र संखुवासभाका डिएसपी लालध्वज सुवेदी सहितका अनुसन्धान अधिकृतहरूले हत्या अनुसन्धान गरेका थिए । ‘तेजबहादुरले हेपेका कारण’ आफुले आवेगमा हत्या गरेको आरोपी लोकबहादुरले प्रहरीलाई बताएका छन् ।

तेजबहादुरका दुई छोरा विदेशमा छन् । लोकबहादुरलाई आफु विदेश जान नसकेकोमा ‘हिनतावोध’ पनि थियो । ‘हेपाइ खप्न नसकेर लोकबहादुरले तेजबहादुर परिवारको विनाश गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । आमा र हजुरआमालाई हत्या गरेको ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीले देखेपछि प्रमाण मेटाउन लोकबहादुरले उनीहरुलाई लखेटेर बारीमा हत्या गरेका थिए । 

प्रतिक्रिया दिनुहोस