काठमाडौं महानगरपालिकाले कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गर्ने

सफल खबर संवाददाता

सोमबार, ०७ भदौ २०७८, १२ : ५२
काठमाडौं महानगरपालिकाले कर नतिर्नेको घर-आँगन र कार्यालयमा पञ्चेबाजासहित नाचगान गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट कर असुल गर्न आगामी भदौ ९ गते बुधबारदेखि पञ्चेबाजासहित टोलटोलमा अभियान शुरु गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले कर असुल गर्न बुधबारदेखि पञ्चेबाजासहित लोक तथा दोहोरी गीत बजाएर घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदातासमक्ष पुग्ने र गीतमार्फत कर नतिर्ने करदाताका बारेमा जानकारी गराउन लागेको बताए ।

महानगरले बक्यौता रकम असुल गर्न पटक–पटक सूचना सार्वजनिक गर्दा पनि सम्बन्धित निकाय सम्पर्कमा नआएपछि यस्तो तयारी थालेको प्रवक्ता डंगोलले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाले यसअघि गत असार १६ गते र साउन २६ गते कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । असार १६ गते पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरिएको थियो भने साउन २६ गते दोस्रो चरणमा ७२ ठूला करदाताको नाम महानगरले सार्वजनिक गरेको थियो ।

महानगरले ठूला करदाताको नाम सार्वजनिक गर्दै ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो । तर, महानगरले सूचना गर्दा पनि करदाताले बेवास्ता गरेपछि यो पटक यस्तो तयारी थालिएको प्रवक्ता डंगोलले जानकारी दिए। यस्तै कर तिर्न बाँकी करदातालाई आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमअनुसार दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने महानगरले जनाएको छ । तर, अझै आलटाल गरे थप समस्या हुने भन्दै कर तिर्न निजी र अर्धसरकारी संघसंस्थालाई महागरले अनुरोध गरेको छ । महानगरले यस अभियानमा ७० करोड रुपियाँ असुल गर्ने लक्ष्य लिएको प्रवक्ता डंगोलले बताए।

उनका अनुसार सूचना सार्वजनिक गरेयता हालसम्म करिब तीन करोड रुपियाँ बक्यौता रकम असुल गरिएको छ । सूचना जारी भएपछि सम्पर्कमा आएका व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा एक करोड ५३ लाख राजश्व बुझाएको महानगरले जनाएको छ । कर बुझाउनेमा युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ वल्र्ड ट्रेड सेन्टर, नेशनल हस्पिटल, शहीद मेमोरियल हस्पिटल र एनआरटी क्लबले पहिलो चरणमा राजशव बुझाएको हो वल्र्ड ट्रेड सेन्टरले एक करोड, नेशनल हस्पिटलले २४ लाख, शहीद मेमोरियल हस्पिटलले १९ लाख २० हजार र एनआरटी क्लबले १९ लाख राजश्व बुझाएको महानगरले जनाएको छ ।

त्यस्तै राजश्ज तिर्न बाँकी रकम केही हप्ताभित्र तिर्ने प्रतिबद्धता गरेको प्रवक्ता डंगोलले बताए । ‘व्यापारिक प्रतिष्ठानले बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ । करदातामध्ये कसैले १० दिन, कसैले १५ दिनभित्र बाँकी रकम तिर्ने कागज गरेको उनले बताए । 

प्रतिक्रिया दिनुहोस