७ वटा सहकारीको थप अनुसन्धान गर्न सीआईबीलाई महानगरको पत्र

सफल खबर संवाददाता

विहीबार, २० भदौ २०८१, १४ : ०२
७ वटा सहकारीको थप अनुसन्धान गर्न सीआईबीलाई महानगरको पत्र

काठमाडौं। काठमाडौं महानगरपालिकाले ७ वटा सहकारी संस्थाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई परिपत्र गरेको छ ।

सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिले ४० वटा सहकारीको अनुगमन गर्दा ७ वटालाई थप अनुसन्धान र कारबाहीको प्रक्रियामा लैजानुपर्ने देखिएपछि सीआईबीलाई फाइल पठाइएको महानगरले जनाएको छ ।

महानगरले सीआईबीलाई पठाएको फाइलमा सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सत्कार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महावौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड र नमो हारती बचत तथा ऋण सहकारी संस्था लिमिटेड छन् । यस्तै बहुउद्देश्यीय सहकारीमा आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड छ ।

बचत संकलन, संकलित रकम परिचालन, ऋण प्रवाह तथा लगानीका विषयमा थप अनुसन्धान गर्नुपर्ने भएकोले अनुसन्धानका लागि सीआईबीमा पठाइएको सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।

 

 

 

 

उनका अनुसार सञ्चालनमा भएका सहकारीहरूमा ‘स्वनियमको पालना’, ‘लोकतान्त्रिक नियन्त्रण प्रणाली’ ‘एकाधिकार’, ‘लगानीका क्षेत्र’, ‘सिद्धान्तको अनुसरण’जस्ता पक्षमा कमजोरी देखिएको छ ।

यी सहकारीहरूले उद्देश्यविपरीत लगानी, क्षेत्राधिकार बाहिरको बचत स्वीकार तथा लगानी, सदस्यभन्दा बाहिरको लगानी, एकाघर व्यक्ति वा एक व्यक्ति नियमविपरीत सञ्चालक भएको, लगानी लिएको र दिएको पाइएको छ ।

अनुगमन समितिले २०८० चैत १६ गतेदेखि २०८१ असार ७ गतेसम्म गरिएको अनुगमन र त्यसका आधारमा प्रतिवेदन तयार पारेको थियो ।अनुगमन गरिएकामध्ये एउटाको कार्य क्षेत्र प्रदेश देखिएकाले सक्कल फाइल प्रदेश सरकारलाई पठाइएको छ ।

सहकारी नियमन महाशाखा प्रमुख एवं अनुगमन समितिका सदस्य सचिव सुशील सुवेदीका अनुसार अनुगमनबाट प्राप्त प्रतिवेदनका आधारमा ३२ वटा सहकारी संस्थालाई स्पष्टीकरण सोधिएको छ ।

उनका अनुसार महानगरपालिका सहकारी ऐन २०७४ बमोजिम कसुरको गम्भीर्यता हेरी अधिकतम ५ लाख रुपैयाँसम्म  जरिवाना र अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । महानगरपालिका भित्र १ हजार ९२२ वटा सहकारी संस्था महानगरको नियमन क्षेत्राधिकार भित्र छन् ।

प्रतिक्रिया दिनुहोस