चितवनमा थप १ सय ३३ जनामा कोरोना पुष्टि,५ जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, ०६ भदौ २०७८, १७ : ४७
चितवनमा थप १ सय ३३ जनामा कोरोना पुष्टि,५ जनाको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणबाट आज पाँच जनाको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई जना, गोरखाका दुई जना र मकवानपुरका एक जना रहेका छन् ।

चितवनका विभिन्न अस्पतालहरुमा १७१ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ५८ जना, भेन्टिलेटरमा १६ जना, एचडीयूमा ३४ जना र सामान्य बेठमा ७९ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २० जना कोरोनाका बिरामी डिस्चार्ज भएका छन् ।

त्यसैगरी चितवनमा १३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुरमा ११४ जना, खैरहनीमा चार जना, रत्ननगरमा १३ जना र राप्तीमा दुई जना थपिएका हुन् । योसँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या दुई हजार २११ पुगेको छ । जसमा घरमा आइसोलेसनमा दुई हजार ७८ जना, अस्पतालमा १३१ जना र सार्वजनिक आइसोलेसनमा तीन जना रहेका छन् । चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८१ जना पुगेको छ ।