अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दुई वर्षयताकै उच्च

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १५ : ४५
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य दुई वर्षयताकै उच्च

काठमाडौं । नेपालमा बुधवार राति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २–२ रुपैयाँले वृद्धि गरेको हो । निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि गरेको छ ।

मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर एक सय २७ रुपैयाँ, डिजेल तथा मट्टितेल एक सय १० रुपैयाँ र आन्तरिक हवाई इन्धन ८२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।  २० डलर प्रतिकिलोलिटरले वृद्धि भएसँगै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ७ सय ३५ डलर पुगेको छ ।

नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय बजारमा नै इन्धनको मूल्य अत्यधिक वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा नै मूल्यवृद्धि हुँदा निगम पनि मूल्यवृद्धि गर्न बाध्य भएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताएका छन् ।

मूल्यवृद्धि भएपनि निगमलाई पेट्रोलमा प्रतिलिटर ५.७५ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.५३ रुपैयाँ प्रतिलिटर र ग्यासमा २ सय ५८ रुपैयाँ ७१ पैसा प्रतिसिलिन्डर घाटा रहेको प्रवक्ता उपाध्यायले बताए ।

यसबाहेक निगमले विगत १५ दिनमै करिब ६५ करोड घाटा भइसकेको बताएको छ । निषेधाज्ञा खुकुलो हुँदै जाँदा बजारमा इन्धनको खपत बढ्ने र योसँगै निगमको घाटाको आँकडा समेत बढ्ने चिन्ता निगमको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा केही राहत हुने निगमको अनुमान छ ।

बुधवार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ७५.४४ डलर पुगेको थियो । यो  दुई  वर्षयताकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस