नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न

सफल खबर संवाददाता

विहीबार, १० असार २०७८, १४ : ५७
नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न

चितवन । नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको नगर सभा सम्पन्न भएको छ । महानगरको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । 

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८ र ७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट पास गरेको छ ।

बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती शाह ठकुरीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् । 

यस्तो व्यवस्थापन आन्तरिक आयबाट १ अर्ब २० करोड (घरजग्गा रजिष्ट्रेशन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत),अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट रु १ अर्व ७७ करोड २९ लाख ८३ हजार, केन्द्र तथा प्रदेश सरकारको राजश्व बाँडफाँडबाट प्राप्त रु ४४ करोड ८२ लाख ८२ हजार, जनसहभागिताबाट रु ३० करोड, बैंक मौज्दातबाट १ अर्ब, मर्मत सम्भार कोषबाट रु ३ करोड, सडक बोर्डबाट रु ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट रु ३ करोड रहने महानगरपालिकाले प्रक्षेपण गरेको छ ।

अन्तर सरकारी अख्तियारीबाट अनुमानित रु १ अर्ब २० करोड मूल सञ्चितकोषमा प्राप्त नहुने भएकोले अन्तर सरकारी अख्तियारी शीर्षकबाटै खर्च तथा लेखांकनको व्यवस्था गरिने समेत महानगरले जनाएको छ ।

महानगरले आजै नगर सभामार्फत पारित गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि यस पटक बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा सहरी पूर्वाधार विकास,कृषि,शिक्षा,स्वास्थ्य, रोजगारी,पर्यटन पूर्वाधार,उद्योग तथा वाणिज्य,सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस