काठमाडौं । पशुपति क्षेत्रमा रहेको खाली स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोपण अभियानलाई तीव्र बनाइएको छ । यस वर्ष गत शनिबारदेखि पशुपति क्षेत्रमा गुर्जो रोपण अभियान सुरु भएको हो ।
गत वर्ष रोपिएका गुर्जोका बिरुवामध्ये एक हजार ५०० हुर्किएको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । यस वर्ष पनि शनिबार र बुधबार गरी ६०० बिरुवा पशुपति क्षेत्र किवास कोषको कार्यालय परिसरलगायत स्थानमा रोपिएको उनले बताए । आगामी शनिबार पनि पशुपति क्षेत्रका खाली स्थानमा गुर्जो रोपिने जनाइएको छ ।
पशुपति क्षेत्रका वनकाली, कैलाशडाँडा, मृगस्थली, गुह्येश्वरी, ध्रुवस्थली, भण्डारखाल, सिफललगायत स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । गुर्जो रोपणमा अभियानकर्मी राजलवट, पूर्वसहसचिव एवं योग शिक्षक किशोर जोशीलगायत कोषका पदाधिकारी एवं कर्मचारी सक्रिय हुँदै आएका छन् ।
विसं २०७६ चैतमा कोरोना महामारी फैलिएर बच्न बन्दाबन्दी जारी गरिएदेखि नै गुर्जोका बिरुवा रोपण अभियानमा लाग्नुभएका राजलवटले यस वर्ष पनि अभियानलाई निरन्तरता दिएका हुन् । यस वर्ष वर्षा सुरु भएसँगै चार हजार बिरुवा आफैँ उपस्थित भएर रोपिएको उनको भनाइ छ । गत वर्ष उनले एक लाख ६० हजार गुर्जोका बिरुवा देशभर निःशुल्क वितरण गरेका थिए ।
यस वर्ष कीर्तिपुरको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पृथ्वीनारायण शाहलाई कीर्तिपुरका सेनाले लखेटेको स्थलमा बनाइएको युद्ध पार्क, धुलिखेल अस्पताल चौर र मनोहरा नदी किनारमा गुर्जो रोपण भएको छ । वाग्मती नदी किनारको तीनकुने पुलबाट शङखमूलसम्म नदी किनारको दायाँ बायाँ पनि शनिबार नै गुर्जो रोप्ने कार्यक्रम तय गरिएको छ ।
गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधि पनि निःशुल्क वितरण गरिएको थियो । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउनुहुन्छ । ‘यस्य देशस्य यो जन्तोः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले बताए । गुर्जोसँगै अन्य औषधीय गुणले युक्त वनस्पति पनि रोपिँदै आएको अभियानकर्मीहरु बताउँछन् ।
आन्तरिक राजश्व कार्यालय लहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापीरूपमा निःशुल्क वितरण अभियान चलाएका थिए । हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आएका राजलवटले यो अभियानलाई निरन्तरता दिएका छन् ।
गुर्जोलगायत वनस्पतिबाट बनेका चिया र धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांश सेवनकर्ताको अनुभव छ । अनुभवका आधारमा गुर्जोलगायत जडिबुटीबाट बनेका चिया र धुलोको माग पनि बढेको छ ।
पशुपति क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि औषधीय गुणले युक्त जडीबुटी उपहार पठाउन सकिने गरी खाली स्थानमा गुर्जो रोपण गर्न लागिएको हो । कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा पनि यस्ता अन्य वनस्पति रोपणलाई पशुपति क्षेत्रमा तीव्रता दिइने बताउछन् । पशुपति क्षेत्रका खाली स्थानमा वृक्षरोपण अभियानलाई समेत निरन्तरता दिइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १० असार २०७८, १२ : ५६
लेखकबाट थप