सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीको माग

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १५ : २७
सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीको माग

काठमाडौं । सुर्खेतमा कुकुरको पाश्विक हत्या गर्ने व्यक्तिमाथि कानूनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् ।एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह, पशु अधिकारकर्मी इरफान खान, एसपीसीए नेपालकी संस्थापक सदस्य विना पन्त, श्रीज एनिमल रेस्क्यु नेपालकी संस्थापक सिर्जना ठकुरी र डुडु फाउन्डेसनका अध्यक्ष मिलन कार्कीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखलाई एक ध्यानाकर्षण पत्र पठाएर घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन् ।

गत असार ५ गते वीरेन्द्रनगर नगरपालिका–१२ का रनबहादुर पुलामीले छिमेकीको कुखुरा खाएको आरोपमा आफ्नै घरमा पालेको कालो रंगको पोथी कुकुरलाई खजुरास्थित इत्राम खोलाको पुलमा झुन्ड्याएर हत्या गरेका थिए ।

पशु अधिकारकर्मीले यसलाई पाश्विक, क्रूर एवं निर्ममतापूर्ण व्यवहारको पराकाष्ठा भन्दै कानूनी कठ्घरामा उभ्याउन प्रहरीलाई आग्रह गरेका छन् ।यस्ता प्रवृत्तिलाई छुट दिँदा आउँदा दिनमा थप घटना पुनरावृत हुने खतरा रहेकाले संलग्नमाथि मुलुकी अपराध संहिता ऐन २०७४ अनुरूप कारबाही गर्न उनीहरूको माग छ ।

‘एउटा अबोध जनावर कुकुरमाथि गरिएको यो जघन्य अपराधको घटनाले मानवीयताप्रति निक्कै लज्जाबोध बनाएको र आगामी दिनमा समाजमा यस्ता आपराधिक घटना तथा बढ्न नदिन वा निरुत्साहित गर्नका लागि पनि निज अभियुक्तलाई नियन्त्रणमा लिई कानूनअनुसार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कडाभन्दा कडा सजाय (दण्ड र जरिवाना दुवै) को लागि जोडदार माग गर्दछौं,’ पशु अधिकारकर्मीले गराएको ध्यानाकर्षमा भनिएको छ ।


 

प्रतिक्रिया दिनुहोस