सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउँछौं : स्वास्थ्यमन्त्री तामाङ

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १३ : ४०
सबै नागरिकलाई पुग्ने गरी खोप ल्याउँछौं :  स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले सरकार सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताएका छन् ।

वागमती प्रदेश स्काउटअन्तर्गत गोकर्णेश्वर नगरपालिकाको स्थानीय स्काउट कार्यक्रमको उद्घाटनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री तामाङले सबै उमेर समूहकालाई क्रमशः खोप दिँदै जाने बताए । ‘हामी खोप छिट्टै ल्याउँदैछौ । खोपहरू आउनेछ । हामी धेरै पहलकदमी गरिरहेको छौँ । क्रमैसँग सबैलाई खोप लगाइनेछ । खोप सुनिश्चित गर्नेछौँ । नेपाली जनताको रक्षाको लागि मैले गर्नुपर्ने हरतरहको प्रयत्न गर्नेछु, मन्त्री तामाङले भने, ‘खोप जति आउँछ त्यसलाई क्रमैसँग उमेर समूहलाई ध्यानमा राखेर गरिरहेका छौँ । बाँकी रहेकाहरुका लागि पनि छिट्टै खोप ल्याएर दोस्रो डोज लगाउने कुरामा पनि हामी प्रतिवद्ध छौँ । आम नागरिकलाई खोप लगाउनको लागि आवश्यक पर्ने खोपको व्यवस्थापनका लागि हामी प्रयत्न गरिरहेका छौँ ।’

वागमती प्रदेशभित्रका जिल्लाहरूमा स्थानीय स्काउट कार्यक्रम अन्तर्गत कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम आजदेखि थालिएको स्काउट नगर संयोजक सुदर्शन बजगाईँले बताए ।


 

प्रतिक्रिया दिनुहोस