पाँचथर । जिल्लामा दूरदराजका गाउँ वस्तीहरु कोरोना भाइरस सङ्क्रमणका ‘हटस्पट’ बन्न थालेका छन् । जिल्लाका आठवटै स्थानीय तहका दूरदराजका गाउँहरुमा कोरोना भाइरसको सङ्क्रमण निकै तीब्र रुपमा फैलिएको छ । मानवीय उपस्थिति र चहलपहल नै कम हुने गाउँहरुमा सङ्क्रमण तीब्र हुँदा ग्रामीण क्षेत्र पनि प्रभावित बनेको छ । दूरदराजका गाउँ वस्तीहरुमा घरैपिच्छे सङ्क्रमित भेटिनाले यी स्थानहरु ‘हटस्पट’ बनेका छन् ।
हालसम्म जिल्लामा कोभिड–१९ सङ्क्रमणबाट सबैभन्दा प्रभावित स्थान हिलिहाङ गाउँपालिका—५ सुभाङ बनेको छ । यस वडामा हालसम्म ७५ पुरुष र ४७ महिला गरी १२२ जनाको एन्टिजेन परीक्षण गरिएकामा छ ७३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो वडाको मालबाँसे टोल सबैभन्दा बढी प्रभावित छ । यहाँ हालसम्म ४४ जना सङ्क्रमित छन् । यसै वडाका भालुखोप, अमले, जेभाले लगायत टोलमा समेत सङ्क्रमण निकै तीब्र गतिमा फैलिएको छ ।
हिलिहाङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चन्द्रप्रसाद घिमिरेले भने, “घरैपिच्छे विरामी छन् । कतिपयले परीक्षण गर्न मानिरहेका छैनन् । स्थिति भयावह जस्तै छ ।” सङ्क्रमितहरुमा गम्भीर समस्या नहुँदा आत्तिनुपर्ने स्थिति भने नभएको घिमिरे वताउछन । हिलिहाङ—१ अमरपुरमा २२ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जना सङ्क्रमित देखिएका छन् । हिलिहाङमा मात्रै हालसम्म ९४ जनामा सङ्क्रमण देखिएको छ ।
सदरमुकाम फिदिममा घरैपिच्छेजस्तो सङ्क्रमित भेटिन थालेका छन् । फिदिममा आइतवार मात्रै ३० जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा सङ्क्रमण देखिएको थियो । अब्यवस्थित बसोबास, निषेधाज्ञामा पनि अनियन्त्रित मानवीय चहलपलहले सदरमुकाममा सङ्क्रमित दिनहुँ बढिरहेका छन् । सदरमुकाममै लक्षण देखिएका कतिपयले परीक्षण गर्न इन्कार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ११ जेठ २०७८, १३ : २२
लेखकबाट थप